काठमाडौंँ, ४ असार - काठमाडौंँ महानगरपालिका र कीर्तिपुर नगरपालिकामा नेपालभाषालाई पनि कामकाजको भाषा बनाउने भनिए पनि व्यावहारिक कार्यान्वयन र प्रयोग उत्साहप्रद देखिएको छैन, गोरखापत्रमा खबर छ । काठमाडौँ र कीर्तिपुर दुवैको पहिलो बोर्ड बैठकले ‘नेपालभाषालाई पनि कामकाजको भाषाका रूपमा प्रयोग गर्ने’ निर्णय गरेको थियो । संविधानअनुसार भाषा आयोगलाई सरकारी कामकाजको भाषाको सिफारिस गर्ने जिम्मेवारी दिइए पनि आयोगले सिफारिस गर्नुअघि नै ती दुई पालिकाले निर्णय गरिसकेका छन् ।
निर्णय गरेको केही साता बितिसक्दा पनि काठमाडौँ महानगरपालिकाले आफ्नो निर्णय कार्यान्वयनका लागि अझै प्राविधिक तयारी थालेको छैन । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार निर्णयपछि महानगरको ‘साइनबोर्ड’मा नेपालभाषा प्रयोग गर्ने बाहेकका काम नभएको बताउनुभयो । कीर्तिपुरमा भने नेपालभाषाका निवेदनहरू हेर्ने छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नगर प्रमुख रमेश महर्जनका अनुसार यहाँ नेपालभाषाका केही निवेदन पनि परेका छन् । ‘नेपालभाषा बोल्ने मात्र पनि हुनुहुन्छ । लिखित प्रयोग गर्न खासै जान्नुहुन्न रहेछ,’ अहिलेसम्म नेपालभाषा प्रयोग भइनसकेको जानकारी दिँदै महानगरका प्रवक्ता कार्कीले भन्नुभयो, ‘चाँडै यसको छुट्टै डेस्क राखेर काम थाल्छौँ । ’