
राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ ।
जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक परिचालन गरिएको हो ।
सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम भदौ ३० गतेदेखि आगामी मंसिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्यांक कार्यालय जुम्लाका खरिदार कमला योगीले बताए ।
‘पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौं,’ उनले भने । आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरिवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक संकलन गर्नेछन् ।
पहिलो चरणको कार्य सकिएपछि गणकको छनोट प्रक्रिया हुने खरिदार योगीले बताए । गणक छनोट गरेर उनीहरूलाई आगामी कात्तिक १३ देखि १६ गतेसम्म तालिम सञ्चालन गरिनेछ ।
जिल्लामा तथ्यांक संकलन २ चरणमा सञ्चालन गरिनेछ । आगामी असोज १८ र दोस्रो चरणमा आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुन्छ । दोस्रो चरण मूलगणना गर्ने कार्य हो ।
दोस्रो चरणमा गणकमार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायत विवरण संकलन गरिने छ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि संकलन गरिने तथ्यांक कार्यालय जुम्लाले जनाएको छ ।