०१ असार २०८३, सोमबार

दोलखामा ४० वर्षमाथिका सबैलाई खोप

असोज ६, २०७८
दोलखामा ४० वर्षमाथिका सबैलाई खोप
प्रतिकात्मक तस्वीर

दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई बुधवारदेखि कोरोना विरुद्धको खोप लगाउन शुरू गरिएकोे छ । 

यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोना विरुद्धको भेरोसिल तथा कोभिशिल्ड खोप लगाइएकोमा यसपटक भेरोसिल खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले ४० वर्षमाथिका नागरिकसँगै पहिलो डोज लगाएर दोस्रोका प्रतिक्षामा रहेकालाई  खोप उपलब्ध गराइने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको असोज ४ गते बसेको बैठकले बुधवारदेखि ११ गतेसम्म जिल्लाका सबै पालिकाका खोप केन्द्रमार्फत खोप लगाउने निर्णय भएको थियो ।

चीनसँग सिमाना जोडिएको जिल्लाको गौरीशंकर र विगु गाउँपालिका सबै नागरिकलाई चीनले खोप उपलब्ध गराउने भएपछि सहज भएको छ । ती गाउँपालिकाका १८ वर्षभन्दा माथिका सबैलाई खोप दिइएको छ भने १८ वर्ष पूरा भएका खोप लगाउन बाँकीलाई सरकारी कागजातसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन पालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ । 

कालीञ्चोक र मेलुङ गाउँपालिकामा बुधवारदेखि ८ गतेसम्म, विगु र वैतेश्वर गाउँपालिकामा ७ देखि ९ गतेसम्म, तामाकोशी र गौरीशंकर गाउँपालिकामा ८ देखि १० गतेसम्म, जिरी र भीमेश्वर नगरपालिकामा १० गते र शैलुङ गाउँपालिकामा ९ देखि ११ गतेसम्म खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

लक्षित वर्गअन्तर्गत १८ वर्ष पूरा भएका सबै विद्यार्थीलाई समेत खोप लगाइन छुटेका विद्यार्थीलाई उमेर खुल्ने सरकारी कागजसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको छ । यसअघि प्राप्त खोप लक्षित वर्गअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायीहरु, जनप्रतिनिधि, सरसफाइकर्ता तथा सवारी चालकहरुलाई लगाई सकिएको छ । 

पछिल्लो समय जिल्लाका संक्रमितको संख्या घट्दै गइरहेको छ । जिल्लामा १०१ सक्रिय संक्रमित छन् भने ३ हजार ४६० निको भइसकेको छ । जिल्लामा ८ पुरुष र ५ महिला गरी १३ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्