
संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचान भएको १ हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयले माग गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा बुधवार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैकका प्रतिनिधि सम्मिलित टोलीलाई स्थानीयले आयोजनाको जतिसक्दो छिट्टो निर्माण शुरू गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
माथिल्लो अरुण जलविद्युत्् आयोजना प्रभावित सरोकार मञ्चका अध्यक्ष लादर भोटेले आफ्नो भूगोगलबाट बनेको पानीबाट उत्पादित बिजुली बाल्न आतुर रहेकाले आयोजनाको निर्माण जतिसक्दो छिट्टो शुरू गर्नुपर्ने बताए ।
‘आयोजना बन्न लागेकोमा खुशी छौं, आयोजनासँगै सडक निर्माण हुने भएकाले गाडी चड्न पाउने छौं, विद्यालय तथा स्वास्थ्य क्षेत्रको सुधार हुनेछ,’ भोटेले भने, ‘आयोजनाको अनुगमन गर्ने र हेरेर जाने मात्रै होइन, वास्तविक रूपमै निर्माण शुरू गर्नुपर्यो, स्थानीय रूपमा हुने अवरोध हटाएर आयोजना सफल बनाउन तयार छौं ।’
मन्त्री भुसालले आयोजनाको अहिले भइरहेको विस्तृत अध्ययनलाई जतिसक्दो छिट्टो सक्ने र लगानी स्वरूप टुंगो लगाएर निर्माण शुरू गर्ने बताइन् । ‘आयोजना चर्चामा आउने तर दशकौंसम्म निर्माण नहुने अवस्था छ, यसको अन्त्य गरी माथिल्लो अरुण स्थानीय जनताले लाभ पाउने गरी निर्माण गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ उनले भनिन्, ‘आयोजनाको लाभको हकदार स्थानीय जनता नै भएकाले निर्माणमा सहयोग गर्नुहोला ।’
सरकारले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रूपमा अगाडि बढाउने बताएको छ । ‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ४ अंकको जडित क्षमता (१०६१ मेगावाट) भएको माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना हो ।
आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर र विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।