अमेरिका अहिले मस्को र बेइजिङ दुवैसँगको द्वन्द्वमा अघि बढेको र ब्रसेल्स त्यस द्वन्द्वमा तानिन थालेको युरोपेली संघका नागरिकहरूले विश्वास गरेका छन् ।
बुधवार युरोपीयन काउन्सिल अन फरेन रिलेसन्सले प्रकाशित गरेको अध्ययनमा १६ हजार भन्दा बढी मानिसले पूर्व र पश्चिमबीचको सम्बन्ध गम्भीर दबाबमा परेको बताएका छन् ।
फ्रान्स, जर्मनी, इटली, पोल्यान्ड, अस्ट्रिया र स्पेन लगायत १२ वटा देशमा गरिएको एक सर्वेक्षणमा भाग लिएका ५९ प्रतिशतले नयाँ शीतयुद्ध अमेरिका र रुसबीच शुरू भइसकेको बताए ।
युरोपेली संघ मस्कोसँगको द्वन्द्वमा तानिएको चाहिँ ४४ प्रतिशतले बताए । तर पोल्यान्ड र फ्रान्समा मात्र बहुमत व्यक्तिहरूले भूराजनीतिक द्वन्द्वका कारण आफ्नो देशलाई असर परेको बताए । अन्यले चाहिँ भूराजनीतिक खेल ठूला खेलाडीहरूले खेलिरहेको विश्वास गरेका छन् ।
अमेरिका र चीनबीच शीतयुद्ध शुरू भएको विश्वास लगभग दुईतिहाइ सहभागीले जनाए । त्यसको आधा संख्याका व्यक्तिले युरोपेली संघ र चीनबीच शीतयुद्ध भएको विश्वास गरेका छन् । ब्रसेल्स र मस्कोबीचको द्वन्द्व चीनसँगको द्वन्द्वभन्दा वास्तविक भएको अधिकांश सहभागीको भनाइ छ ।
यस शीतयुद्धमा अमेरिकाको सम्भावित सफलताका विषयमा मानिसहरूले स्पष्ट कुरा राखेनन् । एकदमै कमलाई मात्र विश्व मामिलामा हस्तक्षेप गर्न सक्ने शक्ति वाशिङटनसँग छ भन्ने विश्वास छ ।