
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जीवन राई नेतृत्वको नेकपा एकीकृतबीच एकताको प्रक्रिया अघि बढेको छ ।
२ पार्टीलाई एकीकरण गरी नेकपा एकीकृतले लिएको चुनाव चिह्न नेकपा एकीकृत समाजवादीको बनाउने गरी २ पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
एमाले विवाद चरमोत्कर्षमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका नेताहरूकै सल्लाहमा जीवन राईले नेकपा एकीकृत दर्ता गराएका थिए ।
राई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकट नेता मानिन्छन् । उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।
अनेरास्ववियूको उपाध्यक्षमा पराजित भएपछि उनले पार्टी राजनीति शुरू गरेका थिए ।
राईलाई एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनाउने र एकीकृत समाजवादीको चुनाव चिह्न कलम बनाउने तयारीसहित एकीकृत समाजवादीका नेताहरूले राईलाई एकीकरणको प्रस्ताव गरेका छन् ।
एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको चुनाव चिह्नबारे छलफल भइरहेको छ । चुनाव चिह्नका लागि विभिन्न विकल्प बैठकमा प्रस्तुत भएको एक नेताले बताए ।
धेरैले कलम चुनाव चिह्न नै ठीक हुने र जीवन राईलाई उपयुक्त जिम्मेवारी दिएर पार्टी एकता गर्दा राम्रो हुने सुझाव दिएको एक केन्द्रीय सदस्यले बताए ।
यसअघि राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपाल, झलनाथ खनालको सहयोगमा उम्मेदवार भएका खिमलाल देवकोटाले पनि चुनाव चिह्न कलम रोजेका थिए ।
राईले पार्टी दर्ता गर्ने बेलामा त्यसबेला एमालेका असन्तुष्ट नेताहरूसँगको सल्लाहमा नै कलम चिह्न रोजेर पार्टी दर्ता गरेकाले अहिले एकीकृत समाजवादीले त्यसैलाई चुनाव चिह्न बनाउन पहल गर्नुपर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा आएको नेताहरूले बताए ।
बैठकमा कतिपयले नेकपा एकीकृत समाजवादीको नाम फेरेर नेकपा एकीकृत राख्नुपर्ने प्रस्ताव पनि गरेका छन् । नेकपा एकीकृत समाजवादी अप्ठ्यारो नाम भएकाले त्यसलाई फेर्नुपर्ने कतिपय केन्द्रीय सदस्यले बैठकमा प्रस्ताव गरेका छन् ।