
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार छैटौं दिनपनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ ।
बिहीवार पनि प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु वेलमा गएर नाराबाजी गरेका हुन् ।
एमालेको नाराबाजीका बावजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कार्वाही अगाडि बढाएका छन् ।
माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेले भदौ २३ गतेदेखि संसदमा नाराबाजी कायम गरिरहेको छ ।
विपक्षीको नाराबाजीका बाबजुत प्रतिनिधि सभाबाट बजेटका पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक पारित हुँदैछ ।
यसअघि असोज ४ गते बसेको प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको थियो ।
राष्ट्रिय सभाबाट विनियोजन विधेयक बिहीवार पारित भएको थियो ।
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको सूचना प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।