
बैतडीमा व्यापारीको हत्या आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा बिहीवार बिहान मृत फेला परेका थिए ।
उनकोे टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको र अनुसन्धानका क्रममा हत्यामा संलग्न भएकोे आशंकामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनले नियन्त्रणमा लिइएका सबै स्थानीय भएको र अनुसन्धान चलिरहेकाले उनीहरूको नाम खुलाउन नमिल्ने बताए ।
महरालाई सन्सेरीमाडौंकै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।