
सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ ।
शुक्रवार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो ।
बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । ‘जे निर्धारित समयका लागि केन्द्रीय महाधिवेशन निर्धारण गरेका छौं । त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्यूजन नराख्नका लागि र बैठकमा महाधिवेशन मंसिरबाट अलि पछाडि जाने हो कि कसैले प्रस्ताव पो राख्नु भयो कि भनेर खास गरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवत् रुपमा जान्छौं ।’
बैठकले भोलि शनिवार निर्धारित समयमै पार्टीको पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावनाअनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि कांग्रेसले गरेको छ ।