
किंग्स इलेभेन काठमाडौंले ईपीएल खेल्ने टोली र जर्सी सार्वजनिक गरेको छ ।
एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटेर बनाएको टोलीलाई शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
काठमाडौं आएका अफ्रिदीले शनिवार र सोमवार दुई खेल मात्र खेल्नेछन् । कार्यक्रममा किंग्स इलेभेनबाट खेल्न काठमाडौँ आएका अफ्रिदीले नेपालले दिएको सम्मानले आफूलाई खुशी बनाएको बताए ।
कार्यक्रममा किंग्स इलेभेनका कप्तान सन्दीप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीका कारण टीमले सुखद नतिजा दिने बताए । आफ्रिदीको अनुभवले टीमलाई राम्रो खेल्न सहयोग पुग्ने बताए ।
किंग्स इलेभन काठमाडौँको टीममा ४ जना विदेशी खेलाडीसहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला र गुल्सन झा रहेका छन् ।
यस्तै विदेशी खेलाडीमा अफ्रिदीसहित जनक प्रकाश, रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् । किंग्स इलेभेन काठमाडौंले शनिवार अघिल्लो संस्करणको विजेता ललितपुर पेट्रियोटसविरुद्ध खेल्नेछ ।