
लन्डनको ग्रेनफेल टावरमा अघिल्लो हप्ता आगो लागेर कैयौं परिवार जिउँदै जल्ने स्थिति आउनुमा बेलायतको सत्तारूढ कन्जर्भेटिभ दल दोषी छ ।
तर यो प्रधानमन्त्री टेरिजा मेको नेतृत्वमा रहेको कन्जर्भेटिभ दलको मात्र कुरा होइन । दशकौंदेखिका बेलायती सरकारहरूले समाजका धनाढ्यहरूलाई अझ धेरै सम्पत्ति जोड्नका लागि सहज बनाउने क्रममा गरीब समुदायलाई नियोजित रूपमा अवहेलना गरेको दुष्कर्मको परिणाम हो यो ।

वर्षौंदेखि सार्वजनिक खर्च कटाउने ‘अस्टेरिटी’ नीति लन्डनको आगोसँग प्रत्यक्ष रूपमा जोडिएको छ । सुनियोजित रूपमा सार्वजनिक खर्च कटाउने कामले धनीहरूलाई करछुटको अवसर दशकौंदेखि दिँदै आएको छ । यही कारणले गर्दा धेरै मानिसहरू असुरक्षित घरहरूमा बस्न बाध्य छन् । यसले बेलायती सरकारहरूको अमानवीय प्राथमिकताको घृणास्पद संकेत दिन्छ ।
त्यसैले त प्रधानमन्त्री मेले जलिरहेको ग्रेनफेल टावर भ्रमण गर्दा उनका सहयोगीहरूले उनलाई त्यहाँका निवासीको आक्रोशबाट बचाउनका लागि टाढै राखे । बेलायतमा त्रासदीपूर्ण आगलागीको यो घटना एक दुर्घटना मात्र नभएर एक क्रुद्ध लेबर राजनीतिकर्मीका शब्दमा ‘कर्पोरेट हत्या’ हो । बेलायतका धेरै मानिसमा यसप्रति सार्वजनिक रोष छ ।

लन्डनका अग्निपीडित समुदायका साथसाथै बेलायती जनतामा जागेको क्रोध उम्लने स्थितिमा पुगिसकेको छ किनकि आगलागीमा मृत्यु भएका व्यक्ति आगोको जोखिममा रहेका भवनमा बसिरहेको पत्ता लाग्यो । ती पीडितहरू बेलायती समाजमा बढ्दै गएका गरीबहरूमा पर्दछन् ।
उनीहरूको क्रोध झन् बढ्दै जाने निश्चित छ किनकि आगलागीका कारण मर्नेको संख्या १०० सम्म पुग्ने अनुमान गरिएको छ ।
ग्रेनफेल टावरका निवासीहरूले आगलागीका लागि तत्कालै स्थानीय कन्जर्भेटिभ सरकारका प्रतिनिधि र वेस्टमिन्स्टरमा रहेका तिनका नेतामाथि दोष लगाए । हुन पनि वर्षौंसम्म टावरमा आगोको खतरा रहेको भनी गरिएको गुनासोलाई बेवास्ता गरिएको थियो । निवासीहरूका अनुसार टोरी काउन्सिलरहरू विलासी घर र बंगलामा बस्ने धनीहरूका लागि उक्त क्षेत्रलाई सुन्दर बनाउनका लागि बढी चिन्तित थिए ।
कम आमदानी भएका परिवारहरूलाई थोत्रो र असुरक्षित अग्लो भवनमा कन्जर्भेटिभ सरकारले खर्च कटाउने नाममा कोचेको भनी जायज गुनासाहरू व्यक्त भएका छन् ।

चौबीस तल्ला अग्लो ग्रेनफेल टावरको बाहिरी साजसज्जाका लागि क्लाड्डिङ अर्थात् आवरण सामग्री लगाइएको थियो । महाथोत्रो भवनलाई बाहिरबाट सुन्दर देखाउन मात्र क्लाड्डिङ लगाइएको निवासीहरूको भनाइ छ ।
तर त्यही सस्तो क्लाड्डिङ सामग्रीले आगो टिपेर पूरै भवनलाई एक विशाल चिम्नी बनाइदिएको शंका गरिएको छ । उक्त टावरमा आगो तीव्र गतिमा लागेबाटै यो शंका पुष्टि हुन्छ ।
लन्डनमा, अझ बेलायतभरि, यस्तै खालका कमसल टावरमा बस्ने कम आमदानी भएका हजारौं परिवारहरू पनि आगलागी जस्ता दुर्घटनाको शिकार हुन सक्ने डर छ ।
यहाँको मूल समस्या भनेको बेलायत सरकारले विगत चार दशकदेखि, मार्गरेट थ्याचर प्रधानमन्त्री हुँदादेखि, नवउदारवादी पूँजीवादी अर्थतन्त्रमा जोड दिने गरेको छ । यो अर्थनीतिले सार्वजनिक खर्चलाई समाजका सम्भ्रान्त थप धनी बन्नबाट रोक्ने तत्त्वका रूपमा लिन्छ । बेलायती शासनको एक मात्र आधार व्यक्तिगत मुनाफा हो । अनि टोनी ब्लेयर र गोर्डन ब्राउनअन्तर्गतका लेबर सरकारहरू पनि धनीको पक्षमा कामकाजी जनतालाई धोका दिने काममा दत्तचित्त भएर लागेका थिए ।
तर विशेषगरी बेलायती कन्जर्भेटिभ सरकारले जनतालाई दुःख दिने गरी सार्वजनिक लगानीमा भारी कटौती गरेको छ । सस्तो आवास, पर्याप्त अग्निनियन्त्रण सेवा, आधारभूत भवन सुरक्षा लगायतका धेरै कुरामा कटौती गरिएको छ । सरकारको अनैतिक विचारधारा अनुसार साधारण कामकाजी जनता भनेका सरकारलाई कर बुझाउने स्रोत मात्र हुन् र त्यही करलाई सरकारले धनी पोस्नका लागि खर्च गर्छ ।
बेलायती जनताले सरकारको नाममा हुने अलोकतान्त्रिक घोटालाको बारेमा सचेत हुनु जरूरी छ । वर्षौंसम्म कन्जर्भेटिभ पक्षधर सञ्चारमाध्यमले केही सीमित धनीलाई झन् धनी बनाउनका लागि सरकारले गरिरहेको पूँजीवादी घोटालाका बारेमा जनतालाई भ्रममा राख्न सहयोग गरे ।
तर अहिले जनताले कसरी समुदाय र सार्वजनिक सेवाहरूको बेवास्ता गरिँदैछ र उनीहरूलाई विपन्न अवस्थामा बस्न बाध्य बनाइँदैछ भनी जानिसके । बेलायती सरकारले विदेशी भूमिमा युद्ध गरेर निर्दोष मानिसहरू मार्नका लागि अर्बौं पाउन्ड खर्च गर्छ अनि उसलाई आणविक हतियार बनाउन टन्न पैसा खर्च गर्न डर लाग्दैन । तर साधारण कामकाजी जनतालाई राम्रो रोजगारी, तलब, आवास, शिक्षा र स्वास्थ्य दिने कुरा गर्दा चाहिँ सरकारले बजेट सन्तुलन, अस्टेरिटी र सार्वजनिक खर्चको व्यवस्थापनको बहाना झिक्न थाल्छ ।
बेलायतमा लेबर पार्टी प्रमुख जेरेमी कोर्बिनले यस्तो आपराधिक नीतिको धेरै अघिदेखि विरोध गरिरहेका हुनाले ग्रेनफेल टावरका निवासीले उनीसँग आत्मीय व्यवहार गरे । तर प्रधानमन्त्री टेरिजा मे त निवासीहरूको अघि पर्न पनि सकिनन् ।

यो आगलागी कुनै दुर्घटना होइन । बेलायती सरकारको आपराधिक लापरवाहीका कारण यो विपत्ति कुनै न कुनै दिने आउने स्थिति नै थियो ।
यहाँ अग्नि सुरक्षामाथिको लापरवाही मात्र बुझ्नु हुँदैन । मुख्य कुरा त बेलायती सरकारले सुनियोजित रूपमा आफ्ना नागरिकहरूमाथि अलोकतान्त्रिक शासन चलाएको छ । बहुमत जनतालाई धरापमा पारेर केही मुट्ठीभरकालाई धनी बनाउने नवउदारवादी पूँजीवादी घोटालाप्रति आत्मसमर्पण गर्ने सबै पश्चिमी मुलुकको हविगत यही हो ।
लन्डनको भयानक आगलागीले एउटा कुरा प्रस्ट रूपमा बताइदिएको छ : पश्चिमी राजनीति आपराधिक रूपमा धनी बन्नका लागि गरिने घोटालाको अर्को रूप हो ।
भावानुवाद : विन्देश दहाल