
सुदूरपश्चिम प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरिएको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन ।
२ वटा कार्यालय स्थापना गरी २०७१/७२ सालमा आयोजनाको ठेक्का भएको थियो । शुरूदेखि नै सो आयोजना कछुवा गतिमा निर्माण भइरहेको छ ।
३५९ कूल लम्बाइ रहेकोे सेती राजमार्गको २ खण्ड बनाएर निर्माण कार्य भइरहेको छ । अछाम र बझाङ जिल्लामा २ वटा कार्यालय स्थापना भएका हुन् ।
नेपालको उत्तरी दक्षिण जोड्ने सबैभन्दा छोटो दूरी रहेको सुदूरपश्चिम प्रदेशको गौरवको योजना सेती राजमार्ग हो ।
कैलालीको टीकापुर भारतसँग जोडिएको तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हँुदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ । निर्माण शुरू भएको ७ वर्ष बितिसक्दा पनि सेती लोकमार्गको १९२ किलोमिटर सडकमा ट्रयाक खोल्नै बाँकी छ । कूल ३५९ किलोमिटर लामो लोकमार्ग निर्माणको काम बजेट अभावका कारण अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको हो । सेती लोकमार्ग दक्षिणी खण्ड २४२ किलोमिटर सडक योजना कार्यालय साँफेबगरले हेर्दै आएको छ ।
दक्षिणीखण्ड बौनियादेखि ठूलीगाडसम्म रूख कटानको आदेश नआउँदा ३ वर्ष निर्माणको काम अवरुद्ध भएको थियो । गत वर्ष मात्र रूख कटानको आदेश आएपछि निर्माणको काम अघि बढाइएको थियो । यो खण्डअन्तर्गत हाल ४ वटा पुल र बौनियादेखि ठूलीगाडसम्म सडक निर्माणको काम भइरहेको योजना कार्यालयले जनाएको छ ।
कैलालीको भागमा ६ दशमलव ५ किलोमिटरभित्र कालोपत्रेको काम गरिएको छ । कालोपत्रे गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झण्डै २० दशमलव ५ किलोमिटर सडकखण्ड मिसिएको छ । चैनपुरदेखि कैलालीको टीकापुरसम्मको करीब २४२ किलोमिटर लामो सेती लोकमार्ग दक्षिणी खण्डमध्ये डोटी, बझाङ र अछाममा रेखांकन गरिएको कतिपय ठाउँमा समेत ट्रयाक खोल्न बाँकी छ ।
ठुलीगाड हुँदै सेरीगाड साँफेबगरसम्म १ अर्ब ५० करोडको बहुवर्षीय ठेक्का स्वीकृतका लागि आयोजना कार्यालयले मन्त्रालयमा फाइल पेश गरेको छ । यो खण्डअन्तर्गत ३० करोडको ठेक्का सम्झौता गरिएको भए पनि ७ करोड बराबरको काम भएर सम्झौता अवधि सकिएपछि थप निर्माणको काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जानकारी दिएको छ ।
बजेट अभावकै कारण धेरै स्थानमा सडकको काम हुन नसकेको सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी दमनकुमार विष्टले बताए । ‘प्रतिकिलोमिटर सडक निर्माण गर्न ५ करोड आवश्यक पर्छ तर वनको अवरोध र बजेट अभावका कारण निर्माणले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने ।
बौनियाँदेखि ठूलीगाडसम्मको ५५ किलोमिटर ठेक्का भएर काम शुरू भएको छ । डोटी खण्डमा जंगलको काम भइरहेको छ । वन तथा वातावरण मन्त्रालयले रूख कटानको आदेश दिएकाले त्यो खण्डमा रूख कटानको काम भइरहेको सूचना अधिकारी विष्टले जानकारी दिए ।
अछाममा ठेक्का प्रक्रियामा रहेको छ । त्यहाँ एउटा गाड रहेकाले पुलका लागि ठेक्का प्रक्रिया शुरू भएको विष्टले बताए । बाजुरा र बझाङ क्षेत्रमा ४ वटा पुल रहेका छन् । त्यसको पनि ठेक्का प्रक्रिया शुरू भइरहेको छ । दक्षिण खण्डअन्तर्गत एउटा ठेक्का ३० करोडमा भएको छ ।
सेती राजमार्गको टीकापुर, बौनिया, बैनिया ठुलीगाड, ठुलीगाड डोटीको सिलीगाडसम्म काम भइ रहेको छ । यसका साथै अछामको साँफेगर हँुदै घुगरकोटबाट बाजुराको बिडासैन थामालेख हुँदै ट्रयाक समेत खुल्न सकेको छैन ।
सेती लोकमार्ग उत्तरी खण्डअन्तर्गतको ११७ किलोमिटर चैनपुर–ताक्लाकोट सडक योजना कार्यालयले हेर्दै आएको छ । ८५ करोड र २२ करोडको छुट्टाछुट्टै ठेक्का सम्झौता गरेर ४० किलोमिटरभित्र मात्र काम भइरहेको छ । ७७ किलोमिटरभित्र अहिलेसम्म कुनै काम हुन सकेको छैन । ११७ किलोमिटर सडक बनाउन ८ अर्ब लागत अनुमान गरिएको भए पनि बजेट अभावका कारण ठोस रूपमा प्रगति हुन नसकेको चैनपुर ताक्लाकोट सडक योजना कार्यालय चैनपुरका योजना प्रमुख बलिराम मल्लले बताए ।
‘४ वर्ष भयो यो खण्डअन्तर्गत नयाँ ठेक्का भएकै छैन,’ उनले भने, ‘नयाँ ट्रयाक खोल्न बोलपत्र आह्वानका लागि मन्त्रालयमा फाइल पठाएको भए पनि काम हुन सकेको छैन ।’
दुवै खण्डको निर्माण सम्पन्न गर्न १५ अर्ब बजेट आवश्यक पर्ने देखिएकोमा निर्माण शुरू भएको ७ वर्षमा २ अर्ब मात्र बजेट विनियोजन भएपछि निर्माण कार्य अनिश्चित बन्न पुगेको हो । यसअघि २ वटा ठेक्का सम्झौता गरेर निर्माण कार्य अघि बढाएको भए पनि काम पूरा नहुँदै सम्झौता अवधि सकिएको सेती लोकमार्ग सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी विष्टले बताए ।
‘३० करोडमा निर्माण सम्झौता गरिएकोमा ७ करोडबराबरको काम भएको ठेकेदार कम्पनीले बताइरहेका बेला सम्झौता अवधिसमेत अहिलेसम्म बढ्न नसकेका कारण निर्माण कार्य अनिश्चितजस्तै देखिएको छ,’ उनले भने । सेती लोकमार्गको उत्तरी र दक्षिणी खण्डमा अझै १९२ किलोमिटरभित्र भने कुनै काम हुन सकेको छैन ।
तमैलमाथि १० किलोमिटर सडक जयपृथ्वी राजमार्ग नै रहेको छ । साथै बझाङतर्फको भोपुर रुपातोला हुँदै दुनिवन भन्ने ठाउँमा बाटो काट्ने काम भइरहेको छ । बझाङतर्फको उत्तरी खण्डमा स्वच्छन्द, बानियाँ नागार्जुन र लुम्बिनी राजेन्द्र जेबी निर्माण कम्पनीहरूले ठेक्का लिएका छन् ।
सुदूरपश्चिम प्रदेशको चीन भारत जोड्ने दार्चुलाको टिंकर र बझाङको उरै नाका मात्र हुन् । बझाङ चैनपुर सदरमुकामसँग खोडपे बझाङ सडक जयपृथ्वीराज मार्ग जोडेर पिचसमेत भइसकेको छ । ताक्लाकोटको यो नाका खुलेमा यस क्षेत्रको व्यापार व्यावसाय पनि बढ्नेछ भने कैलाश मानसरोवर जान पनि यो बाटो सहज हुने भएकाले यहाँको आर्थिक सामाजिक धार्मिक पर्यटकीय क्षेत्रको राम्रो विकास हुनेछ ।
सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी विष्टका अनुसार ३० करोड बजेटको ठेक्का भएको र बाँकी आएको ३० करोड बजेटको ठेक्का हुन बाँकी रहेको छ । पर्याप्त बजेटको अभावले ठेक्का लगाउन नसकेको उनले बताए ।
भारत–नेपाल–चीन जोड्ने सेती लोकमार्ग बहुउपयोगी रहेको छ । यसले कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा र बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ (ताक्लाकोट सीमानाका) जोड्नेछ ।
सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्नेछ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्नेछ । यो लोकमार्ग सम्पन्न भए नेपालको चार धाममध्येको वैद्यनाथ धाम क्षेत्र, जडीबुटीको प्रचुर सम्भाव्यता रहेको क्षेत्र, खप्तडको प्रवर्दन तथा सहज पहुंँच हुनेछ । भारतबाट मानसरोवर क्षेत्रमा जाने तीर्थयात्रीहरूलाई पनि सहज हुनेछ । राजधानी दैनिकमा खबर छ ।