
नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत भइसकेका लीलामणि पौडेलले गृहजिल्ला गुल्मीमा केही दिन पहिले माओवादी भातृ संगठन वाईसीएलको प्रशिक्षण भेलामा दिएको मन्तव्यलाई लिएर अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
माओवादीप्रति विगतमा उनको हल्का ‘झुकाव’ रहेपनि अहिले आएर उनले एमालेभन्दा माओवादी फरक भनेर दिएको मन्तव्यले सामाजिक सञ्जालमा तहल्का पिटेको छ ।
‘यो व्यवस्था कसले ल्याएको हो ? यसको वकालत गर्ने को हो ? त्यो माओवादी केन्द्र हो । पछाडि परेको वर्ग र जातिलाई राज्यको मूलप्रवाह स्थापित गर्न लड्यो । माओवादी वामपन्थी शक्ति हो, रुपान्तरणको एजेन्डा बोक्ने शक्ति पनि हो । एमाले र माओवादी उस्तै–उस्तै हो, जता गए पनि भयो नि होइन ? भन्ने लाग्ला । फरक छन्, राज्यप्रणालीको वकालत गर्ने प्रक्रियामा फरक छ । सबैभन्दा धेरै कुप्रचार त यहीँ भएको छ । राज्य सत्तासँग पौँठेजोरी खेलेर हामी विकास निर्माण गरेर काम गर्ने । दाबी उनीहरूले गर्ने । तपाईंहरू त्यही पत्याइदिने । काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै भयो,’पौड्यालले भनेका थिए ।
लीलामणिले बोलिदिएको त्यो बोली माओवादी आन्दोलनमा लागेर अहिले रक्षात्मक बनेकाहरूका लागि ‘सञ्जीवनी बुटी’ जस्तै भएको छ ।
एकथरी तप्का चाहिँ लीलामणिले माओवादीको प्रशंशा गरेकोमा रोइलो गरिरहेका छन् । फरक यत्ति हो, अहिले सरकारले फिर्ता बोलाएका वा विगतमा राजदूत बनेका पनि ‘होलटाइमर’ कार्यकर्ता हुन् ।
पार्टीको झण्डा उचालेर राजदूत बन्नु हुने तर लीलामणिले माओवादीको प्रशंसा गर्नु अपराध हो जसरी सामाजिक सञ्जालमा टीकाटिप्प्णी भइरहेको छ । कोही व्यक्तिले कुनै राजनीतिक दलको समर्थन गर्नु उसको स्वतन्त्रता हो । किन्तु, यो टिप्पणी न लीलामणिको बचाउमा लेखिएको हो, न उनको आलोचनामा ।
लीलामणि खरो स्वभावका प्रशासक हुन् । निजामती सेवाको उच्च ओहोदामा पुग्दा पनि उनले आफ्नो रवाफ देखाएनन् । मुख्यसचिव रहेको समयमा उनी दशैंको समयमा सरकारी गाडी प्रयोग गरेनन् ।
भाडाको गाडीमा घर जाने आउने गर्दथे । गाउँमा गएको समयमा पनि उनले शहरबाट गाउँ गएका ‘सुकिला मुकिला’लाई आफ्ना छोराछोरीलाई खेत बारीमा लगेर काम सिकाउन सुझाव दिन्थे । मन्त्रीस्तरको सुविधासहित राजदूत बनेका पौड्याल जिम्मेवारीबाट फिर्ता भएको केही दिनमै गुल्मीको बलेटक्सारमा गएर बारी खनेको र खेतमा धान रोपेका दृष्य सामाजिक सञ्जालमा चर्चित भएकै हुन् ।
उनी फोटो खिचाउनका लागि बनावटी रूपमा किसान बनेका होइनन्, जसरी असार १५ को दिनमा टाइ सर्ट लगाएर खेतमा पस्ने फेसन शुरू भएको छ । खास किसानको छोराको रूपमै उनी खेतबारीमा काम गर्छन । सस्तो प्रचारभन्दा पनि खेती किसानी गर्नेहरूलाई प्रोत्साहनका लागि उनी किसानको भेषमा देखिन्छन्, खेतमा जाँदा उनले लगाएको पोशाकले त्यही भन्छ ।
मुख्यसचिवको जिम्मेवारीमा रहेको समयमा उनले थालेको बागमती सफाइ एउटा महाअभियान हो । देशको मुख्यसचिव आफैँ बागमतीको ढल सफा गर्न खोलामा पसेको यो एकप्रकारको मुर्खता जस्तै थियो । दशकौं पहिला जस्तो बागमती कञ्चन भएको त छैन, तर ढल बग्न छाडेको छ । बागमतीमा जे जस्तो सुधार भएको छ, त्यसको श्रेय पौडेललाई दिइएन भने अन्याय हुन्छ ।
सामान्यतया यत्तिको पहुँचमा पुगेका व्यक्ति नेताको घरदैलो धाइरहेका हुन्छन्, त्यसको साटो उनी गाउँमा खेतबारीमा कोदालो खन्दै गाउँमै राजनीतिक प्रशिक्षणमा लागेका छन् । पौडेलको त्यो भनाइलाई लिएर उनी सक्रिय राजनीतिमा आउने हुन् कि भन्ने आकलन पनि भइरहेको छ ।
सक्रिय राजनीतिमा आएर गुल्मी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव लड्न पौडेलका लागि त्यति सहज छैन । एमालेको गढ मानिएको सो निर्वाचन क्षेत्रमा २०४८ र २०७० बाहेक प्राय नेकपा एमालेले चुनाव जित्दै आएको छ । राष्ट्रिय राजनीतिमा स्थापित प्रदीप ज्ञवाली र चन्द्र भण्डारी जस्ता हस्ती आगामी प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार हुन् ।
त्यसैले उनी सक्रिय राजनीतिमा आएपनि गुल्मीबाटै चुनावमा उठ्ने सम्भावना क्षीण मात्र हो ।
माओवादीप्रति लीलामणिको मूल्याङ्कन
जतिबेला लीलामणिले माओवादी पार्टीको प्रशंशा गरिरहेका थिए, त्यही बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने काभ्रेमा पुगेर आफू बिग्रिएको साबिती दिँदै थिए । विगतमा कार्यकर्तालाई बिग्रिएको आरोप लगाउने गरेका प्रचण्डले त्यो दिन अरू होइन आफैँ बिग्रिएको र अब सच्चिने दाबी कार्यकर्तामाझ गरिरहरेका थिए ।
अहिलेको माओवादी पार्टी लीलामणिले भनेजस्तो प्रशंसा गर्न योग्य छ, छैन बहसको विषय हो । तर नेपालमा गणतन्त्र स्थापनाका लागि माओवादीले गरेको योगदानलाई कसैले अवमूल्यन गर्न सक्दैन ।
एमालेभन्दा माओवादी गतिलो हो, होइन यसको मूल्यांकन जनताले चुनावमा गरिरहेका छन्, गरिरहने छन् । लीलामणिले भनेको आंशिक सत्य के हो भने नेपालमा गणतन्त्र स्थापनाको शंखघोष गरेको माओवादीले नै हो । जतिबेला माओवादीहरू गणतन्त्रको नारा लगाइरहेका थिए, कांग्रेस एमालेहरू ‘संवैधानिक राजतन्त्र’को विकल्प खोज्ने निष्कर्षमा पुगिसकेका थिएनन् ।
यति ठूलो राजनीतिक परिवर्तनको अगुवाइ गरेको माओवादी आन्दोलन छिन्नभिन्न अवस्थामा छ । २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि उस्तै ड्रेस लगाएर हिँड्ने माओवादी नेताहरू अलग–अलग कित्तामा पुगिसकेका छन् । करीब–करीब एक अर्काका दुस्मन जस्ता । परिवर्तनको त्यो आन्दोलनमा निस्वार्थ लडेकाहरू कोही अरबको खाडीमा भौँतारिइरहेका छन्, कोही गाउँमा बाँझो बारी खनजोत गरिरहेका छन् ।
२०६४ सालको संविधान सभा निर्वाचनमा अप्रत्यासित रूपमा माओवादीले हासिल गरेको माओवादीको उभार देखेर त्यो बेला कांग्रेस र एमाले शासकीय स्वरूपको विषयमा छलफल गर्न हिच्किचाएका थिए । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासकीय प्रणाली प्रस्ताव गर्दा ‘प्रचण्ड’लाई २५ वर्ष झेल्न सकिँदैन भनेर कांग्रेस र एमाले सांसदहरू यो प्रस्तावमा छलफल गर्न तयार भएनन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा आइपुग्दा त्यो जाज्वल्यमान माओवादी प्रत्यक्षतर्फको १२० सीटबाट २६ मा झर्यो । यसको दोष पनि प्रचण्डले नेता कार्यकर्ता सुविधाभोगी र शहरमुखी भएको भनेर लगाए । त्यो बेलादेखि नै हो, प्रचण्डले पार्टीमा समस्या रहेको स्वीकार्दै अब सुध्रिने बताउँदै आएको छ ।
तर, प्रचण्डले दाबी गरेजस्तो ‘शाही ठाँटबाँट’बाट सुध्रिने सम्भावना भने कमै छ । सिद्धान्त र आदर्शको राजनीति नेपालबाट लगभग समाप्त भइसकेको छ ।
किन बिग्रियो त माओवादी ?
गएको विश्व वातावरण दिवसका दिन माओवादीका एक मामुली कार्यकर्ताले फेसबूक वालमा आफ्नो घरको भीमकाय कम्पाउन्डमा वृक्षारोपण गरेको तस्वीर पोस्ट गरे ।
कुनै पेशा, व्यवसाय र पुख्र्यौली सम्पत्ति नभएका ती कमरेडले वृक्षारोपण गर्ने खालको घरजग्गा कसरी जोडे काठमाडौंमा ? यो एक उदाहरण हो । केन्द्रीय कमिटी बैठक बसेको समयमा पेरिसडाँडामा पुग्ने हो भने सर्वहारा कम्युनिस्ट पार्टीका नेताहरूका विलासी कार हेरे पुग्छ, माओवादी किन बिग्रियो भन्ने कुराको जवाफ जान्न ।
माओवादीका शीर्ष नेता जसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्छन्, जसले अमेरिकालाई साम्राज्यवादी भनेर दिनमा १७ पटक उच्चारण गर्छन्, उसको हातमा अमेरिकामा बनेको एप्पलको मोबाइल र महंगा घडी छन् । उनीहरूलाई ब्रान्डेड ह्वीस्की चाहिन्छ । शहरका सुविधा सम्पन्न भिल्ला र फ्ल्याटमा बस्नुपर्छ । सरकारी होइन शहरका महंगा स्कूलमा उनीहरूका बालबच्चा पढ्नुपर्छ ।
सामान्य उपचारका लागि सरकारी अस्पताल होइन सर्वाधिक महंगा अस्पतालमा पुग्नुपर्छ । सर्वहारा वर्गका लागि राजनीति गर्छु भन्नु र उपयुक्त व्यवहारबीच विरोधाभास देखिन्छ ।
पहिलो संविधानसभाको कार्यकाल (२०६५–०६८)मा व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत साधन समिति बैठकमा ‘सुकिला कपडा लगाउने ? महंगा टिभी र मोटरसाइकल भएका पनि कहीँ सुकुम्बासी हुन्छन ?’ भनेर कांग्रेसका सांसदले प्रश्न गर्दा तत्कालीन सभापति शान्ता चौधरी बैठकको अध्यक्षता गरेको समयमै धुरुधुरु रोएकी थिइन् । यो उदाहरण माओवादीको सदस्यले एप्पलको आइफोन बोक्न नहुने ? महंगा गाडी चढ्न नहुने हो र भनेर प्रश्न गर्नेहरूका लागि हो ।
मिल्दैन, यदि उनीहरू सर्वहारा वर्गका लागि राजनीति गर्छन् भने । होइन, उनीहरूको नाममा राजनीति गर्ने हो भने त क्यासिनो चलाएर बसेपनि कसैले प्रश्न गर्ने कुरा भएन ।
माओवादी सच्चिनुको अर्थ मोहन वैद्य जस्ता निष्ठावान र आदर्श नेताहरू अट्ने पार्टी हो । वैद्य लगायतको समूह जनताको भएन ‘प्रचण्डको मात्र वर्गउत्थान’ भयो भन्दै छुट्टिएका हिँडेका थिए । राज्यबाट पछाडि पारिएको र अवसर नपाएको तप्का अहिले पनि माओवादीप्रति ‘सहानुभूति’ राख्छ । तर यति ठूलो क्रान्ति गरेको पार्टी अहिले बसाइँसराइ गरेर रुग्ण बनेको घर जस्तै बनेको छ ।
के प्रचण्ड र माओवादीले २०६४ सालको जस्तै साख फर्काउन सक्लान् ? धेरै कठिन छ । प्रचण्ड लगायत माओवादी पूरै सुध्रिन अब कठिन छ । तर सापेक्षिक रुपमा आचरण सुधार्न सम्भव छ । सुध्रिन्छु भनेका प्रचण्ड के कुनै व्यापारीले प्रायोजन गरिदिएको वैवाहिक वर्षगाँठको भोज त्याग्न तयार हुन्छन् ? किसानका लागि रासायनिक मल नल्याएबापत ‘कालो सूची’मा परेका ठेकेदारले दिएको घर त्याग्न तयार हुन्छन् ? विचौलियाको घेराबाट बाहिर आएर जनताको पक्षमा, सुशासनको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याउन राजी हुन्छन् ? कठिनै छ ।
‘बिग्रिएको मै हो, अब सच्चिन्छु’ भनेर भाषण गर्दैमा अहिलेका बाठा जनताले त्यति सजिलै पत्याउँछन् जस्तो लाग्दैन । अन्यथा, लीलामणि पौडेल जस्ता व्यक्तिले सुभेक्षा प्रकट गरेपनि प्रचण्डले बेलाबखत ‘माओवादी पार्टी विघटनको’ घुर्की लगाउने र ‘अब सुध्रिन्छु’ भनिरहने छन् ।