
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए ।
जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उनले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले एक अर्काको ज्ञानलाई माझ्न र साझा सहकार्यका लागिसमेत आग्रह गरे ।
माओवादी आन्दोलनमा सहभागी सबै नेता तथा कार्यकर्ताहरू एक आपसमा मिलेर जाने प्रयास भइरहेको भन्दै उहाँले त्यसका लागि सकारात्मक वातावरण बनाउनसमेत सबैलाई अनुरोध गरे ।
आफूहरूले जनयुद्धको क्रममा क्रान्ति छल्छु भनेर कहिल्यै नसोचेको तर दुश्मनले अवरोध गरेको बाटो छल्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताउँदै अध्यक्ष दाहालले भने, “यसमा मेरो इमान्दार प्रयास थियो । कुनै गलत नियत राखिएको थिएन किनकी मैले क्रान्ति छाडेको छैन । नियत गलत राखेको छैन ।”
वामपन्थी तथा माओवादी घटकहरू मिलेर जनतालाई परिचालन गर्ने हो भने गलत निर्वाचन प्रणाली र शासकीय प्रणाली परिवर्तन गर्न सकिने उनको भनाइ छ । अध्यक्ष दाहालले पछिल्लो पटक प्रतिनिधिसभाको विघटन पछि लाखौं जनताको साथमा गरिएको शान्तिपूर्ण सडक प्रदर्शनले पनि सही नीति तथा कार्यक्रम भयो भने जनताले साथ दिन्छन् भन्ने स्पष्ट भएको समेत उल्लेख गरे ।
माओवादी आन्दोलनलाई भ्रष्टीकरण गर्ने र त्यसको बलमा स्थापित भएको धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व उल्ट्याउने ध्येयका साथ प्रतिनिधिसभाको विघटन गरिएको बताए ।