०४ असार २०८३, बिहीबार

दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू

असोज १६, २०७८
दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू

तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू गरिएको छ ।

अस्पतालमा निर्माण सम्पन्न भएको प्लान्टबाट अक्सिजन उत्पादन शुरू गरिएको हो । 

कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार भदौ तेस्रो हप्ताबाट अक्सिजन उत्पादन शुरू गरिएको छ । 

प्लान्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । ‘प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ,’ उनले भने, ‘अस्पतालमै अक्सिजन उत्पादन शुरू भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।’

७५ लाख रुपैयाँ बजेट प्राप्त भएकामा टेण्डरमार्फत ५५ लाखमा अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको अस्पतालले जनाएको छ । प्लान्ट निर्माणका लागि अस्पतालले जय शंकर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ ।

अस्पतालले महामारीका बेला कोरोना संक्रमितको उपचार गरेको थियो । हाल भने अस्पतालमा कोरोना संक्रमित छैनन् । 

अस्पतालले आईसीयू र भेन्टिलेटर समेत शुरूआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आईसीयू र भेन्टिलेटर शय्याको व्यवस्थापन गरेको थियो । 

यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौं पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयलाई आर्थिक भार समेत पर्दै आइरहेको थियो । 

पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप थाइराइड, आँखा र दाँत उपचार सेवा शुरू भइसकेको छ । अस्पतालबाटै थाइराइड सेवा शुरू भएपछि सर्वसाधारणलाई यसको उपचारका लागि महंगो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्