
मोरङमा नेपाली कांग्रेसले आज स्थानीय तहस्तरीय नेतृत्व चयन गर्दैछ । नेतृत्वका लागि प्यानल नै बनाएर कांग्रेसका नेताहरू चुनावी मैदानमा गएका छन् ।
केन्द्रमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र उनीइतर समूहजस्तै गाउँनगरमा पनि त्यसको असर देखिएको छ ।
प्रदेश १ को एक मात्रै महानगरपालिकामा विराटनगरमा ४ जना चुनावी मैदानमा छन् ।
सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रवार उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका छन् ।
निर्वाचनमा ६८१ जनाले मतदान गर्न पाउने नेपाली कांग्रेस विराटनगरले जनाएको छ ।
कटहरी गाउँपालिकाको सभापतिमा रामकुमार कामत, हरिनारायण माझी र शम्भु साह चुनावी मैदानमा छन् ।
कामतलाई पौडेल समूहका महेश आचार्यको समर्थन छ भने माझीलाई देउवापक्षीय नेताको समर्थन रहेको जनाइएको छ ।
बूढीगंगामा जितबहादुर थापा र रेवतीनारायण चौधरी सभापतिका लागि भिडेका छन् । थापा कोइराला निकटका हुन् भने चौधरी देउवा निकट रहेको बुझिएको छ ।
रंगेली नगरपालिकामा सभापतिमा जितनारायण खवास र जगनाथ मण्डलबीच प्रतिस्पर्धा हुने भएको छ । दुई जना नै देउवा समूहका नेता हुन् ।
सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमलकिशोर सिंह बैजनाथ झाले सभापतिका लागि चुनावी मैदानमा रहेका छन् ।
रतुवामाईको सभापतिमा कनैयालाल राजवंशी र पोष्टबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ ।
सुन्दरहरैँचामा महेन्द्र धिमाल र भक्ति सिटौलाले सभापतिलागि चुनाबी मैदानमा छन् ।
सिटौलालाई कोइराला पक्षका नेताको समर्थन छ भने धिमाललाई देउवा पक्षको समर्थन छ ।
बेलबारीको सभापतिमा छत्र लिम्बू र शम्भु भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । लिम्बू पौडेल समूहका हुन् भने भट्टराई देउवा समूहका नेता हुन् ।
पथरी शनिश्चरेको सभापतिमा ईश्वर थापा, लोकमान खरेल र रुपनारायण भट्टराई मैदानमा छन् ।
उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापतिसहितका पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् ।
केराबारीमा पनि सभापतिसहित सबै पदमा सर्वसम्मति भएको छ । जदहामा महेन्द्र मण्डलसहितका पदाधिकारी सर्वसम्मत भएको मोरङ कांग्रेसले जनाएको छ ।
उर्लाबारी र केराबारीका सर्वसम्मत दुवै सभापतिलाई पौडल समूह र डा. शेखर कोइरालाको समर्थन रहेको छ । धनपालथानमा सभापतिबाहेक पदाधिकारीहरूमा सर्वसम्मत भए पनि सभापतिमा दिपकवीर पाण्डे र वासुदेव रायबीच प्रतिस्पर्धा हुने भएको छ ।
मिक्लाजुङमा बबि राई र अरुणविक्रम बस्नेतले सभापतिका लागि चुनावी मैदानमा छन् ।
शनिवार बिहान ८ देखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिए ।