२० असार २०८३, शनिबार

सनराइज सम्मेलन केन्द्रको प्रतिदिन भाडा मात्रै पाँच लाख ६८ हजार, एमालेले बुझायो २१ लाखको चेक

सनराइज सम्मेलन केन्द्रको प्रतिदिन भाडा मात्रै पाँच लाख ६८ हजार, एमालेले बुझायो २१ लाखको चेक

एमालेले प्रथम विधान महाधिवेशन आयोजना गरिरहेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको भाडा कति होला ? यो धेरैको जिज्ञासाको विषय हुन सक्छ ।

हुन पनि यो सम्मेलन केन्द्र नेपालमा भएको सबैभन्दा ठूलो क्षमताको हल हो । ललितपुरको गोदावरीमा ४३ रोपनी क्षेत्रफलमा फैलिएको यो सम्मेलन केन्द्रको मुख्य हलमा तीन हजार जना अट्ने क्षमता छ । 

मुख्य हलका बाहिरपट्टि रहेको दुई वटा सहायक हल छन् तर, त्यसमा मुख्य हलमा जस्तो कुर्सीको व्यवस्था गरिएको छैन । अहिले एमालेले ती दुई हलमा प्लास्टिकको कुर्सी राखेर महाधिवेशन प्रतिनिधिलाई सम्मेलनमा सहभागी गराएको छ । 

सनराइज सम्मेलन केन्द्र कूल १४३ रोपनी क्षेत्रफलमा बनाउने सरकारको निर्णय भए पनि अहिले सम्मेलन केन्द्रको कम्पाउण्ड भने ४३ रोपनी मात्रै रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले बताएको छ । यो समितिले अहिले व्यवस्थापन गरिरहेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनलाई संसद भवनको रुपमा सरकारलाई भाडामा दिइएको छ । 

गोदावरीको सनराइज सम्मेलन केन्द्र व्यवस्थापनको जिम्मा पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिइएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त हलमा पहिलो र ठूलो कार्यक्रम पनि एमालेले नै आयोजना गरेको छ । 

असोज १५ देखि १७ सम्मको तीन दिनको लागि एमालेले सनराइज सम्मेलन केन्द्र भाडामा लिएको छ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले सनराइज सम्मेलन केन्द्रको सबै क्षेत्र भाडामा दिँदा एक दिनको भाडा पाँच लाख ६८ हजार रूपैयाँ तोकेको छ । यस हिसाबले एमालेको तीन दिन उक्त सम्मेलन केन्द्र भाडामा लिदाँ कुल १७ लाख चार हजार रूपैयाँ तिर्नुपर्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका अधिकारीहरूले बताएका छन् । 

हल बुकिङ गर्दा शुरूमा २५ प्रतिशत धरौटी भुक्तानी गर्नुपर्ने र कार्यक्रम शुरू हुनुभन्दा अगाडि हलको सबै भाडा भुक्तानी गर्नुपर्ने कार्यविधि रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका एक अधिकारीले बताए । 

हल बुकिङ गर्दा भुक्तानी गरिएको २५ प्रतिशत धरौटी रकम भने कार्यक्रम सम्पन्न भएपछि मात्रै फिर्ता हुने व्यवस्था छ । 

‘हलमा कुनै क्षति भयो भने धरौटी रकम जफत हुन्छ । क्षति नभएको यकिन भएपछि धरौटी बापतको रकम फिर्ता गर्छौं,’ समितिका ती अधिकारीले भने । 

धरौटी र तीन दिनको हलको भाडा बापतको रकमसहित एमालेले कुल २१ लाख ३० हजार रूपैयाँको चेक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई बुझाइसकेको छ । 

एमालेले हलको तीन दिनको भाडा १७ लाख चार हजार रूपैयाँ तिरेको छ भने धरौटीका लागि चार लाख २६ हजार रूपैयाँ बुझाएको छ । कार्यक्रम सम्पन्न भएपछि हलमा कुनै क्षति नभएको पाइएमा धरौटीबापतको चार लाख २६ हजार भने फिर्ता हुन्छ । 

कार्यक्रमको सन्दर्भमा सम्मेलन केन्द्रभित्र क्षति भएको पाइएमा उक्त क्षतिको मूल्यांकन गरी त्यसबापतको रकम कटौती गरेर बाँकी रकम फिर्ता हुने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका अधिकारीहरूले बताए ।

सनराइज सम्मेलन केन्द्रको उद्घाटन गरिएको भए पनि एमालेले कार्यक्रम आयोजना गर्दा हलको सबै तयारी पूरा भएको थिएन । एमालेले कार्यक्रम आयोजना गर्ने भएपछि हलमा बाँकी रहेको काम हतार–हतार सम्पन्न गरिएको थियो । 

हलको स्टेजमा सोफा, हलको विद्युत, पानी, साउन्ड सिस्टमसहितको व्यवस्था भने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले गरेको छ । कार्यक्रमको लागि आवश्यक अन्य व्यवस्थापन भने एमालेको विधान महाधिवेशन व्यवस्थापन मूल समितिले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्