स्थापनाको दुई वर्षपछि गण्डकी विश्वविद्यालयमा पढाइ

स्थापनाको दुई वर्षपछि गण्डकी विश्वविद्यालयमा पढाइ

गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ शुरू गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतवारदेखि पठनपाठन शुरू गर्ने तयारी गरेको हो ।


Advertisement

नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बीएसएम) र ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बिआइटी) विषयको पढाइ शुरू गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । 


Advertisement

कार्यक्रम शुभारम्भ गर्दै  विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले विद्यार्थीको  उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गरे । 

‘नोलेज’, ‘एटिच्युड’ र ‘इन्डिभिजुअल विहेभियर’मा परिवर्तन गर्न सके शिक्षाका माध्यमबाट मुलुकलाई नै परिवर्तन गर्न सकिने बताउँदै यसका लागि गण्डकी प्रदेश सरकारसँग अझै छलफल गरेर अघि बढ्ने अध्यक्ष देवकोटाको भनाइ थियो ।  


Advertisement

गण्डकी प्रदेशका मुख्य सचिव डा. दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको शुरूआतमै स्नातक तहमा खेलकुद व्यवस्थापनको अध्ययन शुरू हुनु खुशीको विषय भएको बताए । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताए । 

हालका लागि दुई विषयमा अध्ययन शुरू गरिए पनि चाँडै नै बिफर्माको अध्यापन शुरू गरिने जानकारी दिँदै उपकुलपति प्रा. डा. नवराज देवकोटाले युरोप तथा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनमा जोड्ने तयारी गरिरहेको बताए । 

विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (बीएसएम)मा १६, ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बीआइटी)मा ३१ र बीफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन् । 

कमेन्ट गर्नुहोस्