२३ जेठ २०८३, शनिबार

यस वर्ष फूल उत्पादन घट्यो, माग बढ्यो

असोज १६, २०७८
यस वर्ष फूल उत्पादन घट्यो, माग बढ्यो

कोभिड–१९ संक्रमणका कारण यस वर्ष फूल उत्पादनमा कमी आए पनि माग बढेको छ ।

कारोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो ।

‘फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोनाको कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पदनमा पनि देखिएको छ,’ फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले भने ।

‘यस वर्ष बजार माग बढेको छ,’ तामाङले भने, ‘माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याइन्छ ।’

यस वर्ष विगत २ वर्षको तुलनामा १५ प्रतिशत फूलको माग रहेको बताइएको छ । कारोनाका कारण दैनिकरूपमा १ करोड रुपैयाँको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करीब ५० लाख रुपैयाँको कारोबार गर्न थालेको छ ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना संक्रमणदर पनि बिस्तारै हट्दै गइरहेकाले यस व्यवसायले गति समाएको छ ।

विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय बिस्तारै तंग्रिन थालेको छ ।

त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय बिस्तारै खुला हुन थालेसँगै व्यवसायले पनि लय समातेको छ । अझै पनि मठमन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय पूर्णरूपमा सञ्चालनमा नआएका यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्