
बोश नेपालले आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा काठमाडौंमा ‘बोश पावर पार्टनर्स समिट नेपाल २०२६’ आयोजना गरेको छ ।
वार्षिक रूपमा आयोजना हुने कार्यक्रममा करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य व्यावसायिक साझेदारीलाई थप सुदृढ बनाउनु, बजारसम्बन्धी जानकारी आदानप्रदान गर्नु तथा बोश पावर टुल्सका नवीनतम प्रविधि र उत्पादनहरू सार्वजनिक गर्नु रहेको थियो ।
कार्यक्रममा आई–सिरिज (i-Series), नयाँ पुस्ताका ह्यान्ड टुल्स तथा निर्माण, काठ उद्योग र औद्योगिक क्षेत्रमा प्रयोग हुने कोर्डलेस (Cordless) उपकरणहरू प्रदर्शन गरिएको थियो ।
साथै, उत्पादन प्रदर्शन, व्यावसायिक छलफल र नेटवर्किङ सत्रमार्फत सहभागीहरूलाई नयाँ प्रविधि र बजारका पछिल्ला प्रवृत्तिबारे जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोश पावर टुल्स इन्डियाका रिजनल प्रेसिडेन्ट सन्मय दासगुप्ताले नेपाल दक्षिण एसियामा बोश पावर टुल्सका लागि महत्त्वपूर्ण सम्भावना बोकेको बजार भएको बताए ।
उनले डिलर साझेदारसँगको सहकार्य थप सुदृढ बनाउँदै कोर्डलेस तथा व्यावसायिक उत्पादनको दायरा विस्तार गर्ने र उत्कृष्ट बिक्रीपछिको सेवा तथा डिजिटल पहुँचमार्फत ग्राहकलाई थप मूल्य प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।
बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले पनि नेपाल बोश पावर टुल्सका लागि महत्त्वपूर्ण विकासोन्मुख बजार रहेको उल्लेख गर्दै नवीन उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र डिलर सञ्जालसँगको सहकार्यमार्फत कम्पनीको उपस्थितिलाई अझ सुदृढ बनाइने बताए ।
इन्फ्राटेक प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले कम्पनीको सफलताको आधार सुदृढ साझेदारी, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहक सन्तुष्टि रहेको उल्लेख गर्दै देशभरका व्यावसायिक प्रयोगकर्तालाई उत्कृष्ट समाधान उपलब्ध गराउन सहकार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा बोश पावर टुल्स इन्डिया क्षेत्रकी मार्केटिङ प्रमुख ऋतु झाले कम्पनीका नवीनतम उत्पादन र प्रविधिबारे प्रस्तुति दिएकी थिइन् । साथै, उत्कृष्ट व्यावसायिक प्रदर्शन, ब्रान्डप्रतिको प्रतिबद्धता तथा नेपालमा बोश पावर टुल्सको व्यवसाय विस्तारमा योगदान पुर्याउने १० जना ग्राहक तथा डिलरलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको समापनमा बोश नेपाल र इन्फ्राटेक प्रालिले नवीन उत्पादन र गुणस्तरीय सेवामार्फत साझेदारसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालमा व्यावसायिक विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।