२६ जेठ २०८३, मंगलबार

धार्मिक पर्यटन प्रदेशको समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

असोज १६, २०७८
धार्मिक पर्यटन प्रदेशको समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार भएको बताएका छन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा बोल्दै उनले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्न सकिने बताए ।

प्रदेशभित्रका धार्मिक पीठका प्रमुखलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोडेर आर्थिक क्रियाकलाप बढाउन सकिने बताए ।

कालीगण्डकी नदी केबल नदी नभएर सभ्यता, संस्कृति र सम्पदाको आधार भएको उल्लेख गर्दै उनले यसैको महत्त्व र सम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेश सरकारले समिति गठन गरेको जानकारी दिए । धर्मलाई सामाजिक क्षेत्र, शिक्षा र विकासका गतिविधिसँग जोड्न सकिन्छ भन्ने उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रस्तुत गर्न सफल भएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका अन्य पीठहरुले समेत यसको अनुकरण गर्नुपर्नेमा जोड दिए ।

मन्दिर परिसरलाई व्यवस्थित बनाउने मात्र नभई गुरुकुल, प्राकृतिक चिकित्सालय, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेर विन्ध्यवासिनी धार्मिक समितिले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै उनले प्रदेश समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले कोरोनाले आक्रान्त बनाएको यस क्षेत्रलाई चलायमान बनाउन नेपालस्थित राजदूतलाई गण्डकी सरकारले पोखरा बोलाएर विशेष कार्यक्रम गरेको बताए ।

सम्मानित व्यक्तित्व वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले धर्मसँग जोडिएको संस्थाले संस्कृति र समाज सेवाको क्षेत्रलाई अगाडि बढाउन देखाएको क्रियाशीलताप्रति प्रशंसा गर्दै सिर्जनशीलताकै कारण मानव जीवन सार्थक हुने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्