ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको राजनीतिकको बागडोर नेकपा माओवादी केन्द्र र त्यसको नेतृत्वमा निहित रहेको बताएकी छन् ।
पार्टी स्थायी समिति समेत रहेका मन्त्री भुसालले माओवादीहरू आफ्नो संगठन, विचार र कार्यदिशामा स्पष्ट रहेको उल्लेख गर्दै देशको सिंगो राजनीति चलाउने क्षमता आफ्नो पार्टीमा रहेको दाबी गरिन् ।
माओवादी नेतृत्वमा एकताको पहल गर्ने, प्रतिक्रान्तिका विरुद्ध गोलबद्ध गर्ने, अग्रगामी शक्तिलाई मिलाउने क्षमता रहेको उल्लेख गर्दै उनले भनिन्, ‘देशको राजनीति बागडोर माओवादी र माओवादी नेतृत्वले लिएको छ ।’
ललितपुर महानगरपालिका–२२ को वडा सम्मेलनको शनिवार उद्घाटन गर्दै उनले जनयुद्धका समयमा जनतासँग नङ र मासुको सम्बन्ध बनाएजस्तै गरी संगठन विस्तार गर्ने बताइन् ।
‘आमपार्टीे कार्यकर्ता र जनताको बलबाट सुदृढ संगठन बनाएर पार्टीलाई अझै सबल बनाउनुपर्छ,’ मन्त्री भुसालले भनिन्, ‘टोल, वडा, पालिकास्तरमा संगठन विस्तार गरेर जानुपर्छ । माओवादीलाई एकताबद्ध गरेर सुदृढ संगठन बनाउँछौं ।’
उनले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको स्पष्ट पार्दै पार्टी गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताइन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दलाल पूँजीपति वर्गलाई पोस्ने र विदेशी मालिकलाई खुशी पार्ने अभियानमा लागेकाले पछिल्लो अवस्था सिर्जना भएको उनको भनाइ छ ।