२९ जेठ २०८३, शुक्रबार

डडेल्धुरा पुगेर शेखर कोइरालाले भने- सभापतिले गरेको गलत काम सच्याउनुपर्छ

डडेल्धुरा पुगेर शेखर कोइरालाले भने- सभापतिले गरेको गलत काम सच्याउनुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र क्रियाशील सदस्यता छानबिन समितिको गलत कामका कारण कांग्रेस कार्यकर्ता आन्दोलित हुनु परेको बताएका छन् । उनले क्रियाशील सदस्यता वितरणमा भएको गलत काम सच्याउन आग्रह गरे । 

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा अनशनमा बसेको कांग्रेस कार्यकर्ताको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका कोइरालाले आइतवार आयोजित सभामा कोइरालाले कार्यकर्ताले उजागर गरिदिएपछि नेताले गल्ती स्वीकार्नु पर्ने बताएका हुन् ।

क्रियाशील सदस्यता वितरणमा भएको विभेदले कार्यकर्तालाई अन्याय परेको भन्दै आफूहरू डडेल्धुरा आएको उनले बताए । 

‘जे जति गल्ती गर्नुभयो, त्यो कमी कमजोरी उहाँहरूले सच्याउनु हुनेछ र न्याय दिनुहुनेछ भन्ने विश्वास छ । शेरबहादुरजीले यो सभा हेरिरहनु भएको होला, सभापतिजी र क्रियाशील छानबिन समितिले गरेको गलत काम सच्चाउ भनेर तपाईंहरू यहाँ आउनु भएको हो,’ कोइरालाले भने, ‘लोकतन्त्रमा नेताले गलत काम गरेको छ भने त्यो उजागर गर्ने जिम्मा कार्यकर्ताको हो । डडेल्धुरामा गलत काम सभापतिजीले गर्नु भएको छ, तपाईंहरूले उजागर गरिदिएको हो ।’

कोइरालाले मुलुकको लोकतन्त्र र कांग्रेसको भविष्यका लागि महत्त्वपूर्ण रहेको भन्दै गल्ती भए कांग्रेस कमजोर भएर जाने बताए । ‘१४ औं महाधिवेशनले कस्तो कांग्रेस बनाउने कार्यकर्ताले निर्णय गर्ने हो, त्यो निर्णयमा अलिकति गल्ती भयो भने कांग्रेस कमजोर भएर जान्छ । त्यसैले १४ औं महाधिवेशन कांग्रेस र लोकतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण छ,’ कोइरालाले भने । 

आफूहरूविरुद्ध कालो झण्डा देखाइएको भन्दै कोइरालाले कालो झण्डासँग कांग्रेसका कोही नेता कार्यकर्ता नतर्सिने बताए । 

‘अहिले केही साथीहरूले कालो झण्डा देखाउनु भयो, कालो झण्डासँग कांग्रेसका कोही नेता कार्यकर्ता डराउँदैनन् । मलाई सम्झना छ, गिरिजाप्रसाद कोइरालालाई यस्तै मञ्चमा कालोझण्डा देखाइएको थियो, उहाँ भाग्नु भएको थिएन,’ कोइरालाले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले कालोझण्डा देखाउनेलाई पनि हामीले स्वागत गर्न सक्छौँ ।’ 

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायत नेताहरू डडेल्धुरा पुगेर धर्नामा बसेका कार्यकर्तालाई दशैं तिहारसम्मका लागि आन्दोलन स्थगित गराएका थिए । कांग्रेसको १४ औं महाधिवेशन मंसिर १० गतेदेखि हुँदैछ । महाधिवेशनका लागि नगर र जिल्ला तहमा अधिवेशन चलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्