
मोरङ उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धानका क्रममा खुलेको लगभग ३८ क्विन्टल सुन तस्करीसम्बन्धी मुद्दाको बहस आज सकिएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतवारदेखि मुद्दाको अन्तिम सुनुवाइ जारी थियो ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाका अनुसार मुद्दाको प्रतिरक्षा र प्रतिउत्तर बहस एक सातापछि अर्थात आइतवार साँझ सकिएको छ । प्रतिवादीहरूको पक्ष लिएर कानून व्यवसायीले प्रतिरक्षा सकेपछि वादी नेपाल सरकारका तर्फबाट प्रतिउत्तर बहस भएको थियो ।
राणाका अनुसार सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले प्रतिउत्तर बहस गरेका थिए ।
बहसका क्रममा उनीहरूले सरकार पक्षको दाबी बमोजिम प्रतिवादीहरूलाई कारवाही हुनुपर्ने माग गरेका छन् । प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि मुद्दा फैसलातिर अघि बढेको जानकारी श्रेस्तेदार राणाले दिए । सम्भवतः सोमवार अदालतको फैसला आउन सक्ने उनको भनाइ छ ।
मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये ५५ जना पक्राउ पर्दा २२ जना अझैसम्म फरार छन् । सनम हत्याको प्रमाण जुटे पनि तस्करी गरिएको भनिएको सुन भने फेला पर्न सकेको छैन । मुख्य प्रमाणका रूपमा लिइएको तस्करीको सुन नै फेला नपरिकन मुद्दाको फैसला आउन लागेको हो ।
मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहितका ६ जना प्रतिवादीको प्रतिरक्षामा आइतवार दुई जना वरिष्ठ अधिवक्तासहित कानून व्यवसायीहरूले बहस गरेका छन् । गोरेको पक्ष लिएर अधिवक्ता गणेश भट्टराईले बहस गरे । अनुसन्धानबाट सनम हत्या र सुन तस्करीको मुख्य भूमिका गोरेले निर्वाह गरेको खुलेको थियो ।
२०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।
सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको पत्ता लागेको हो । त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा दर्ता गरिएको थियो ।
शुरूमा ६३ जना प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पुरक अभियोग दर्ता गर्दा प्रतिवादी संख्या ७७ पुगेको हो ।