२६ जेठ २०८३, मंगलबार

एमाले विधान महाधिवेशनको संकल्प : चुनावबाट पहिलो पार्टी, एकल बहुमतको सरकार

असोज १७, २०७८
एमाले विधान महाधिवेशनको संकल्प : चुनावबाट पहिलो पार्टी, एकल बहुमतको सरकार

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा तीन वटा दस्तावेज सुझावसहित पारित गरेर सम्पन्न भएको छ । असोजको १५ देखि १७ सम्म चलेको विधान महाधिवेशनले राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव सुझाव सहित पारित भएको हो ।

विधान महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनबाट तीनै तहको सरकारमा एमालेको बहुमत कायम गर्ने कार्यदिशा तय गरिएको छ । देशभरबाट गोदावरीमा जम्मा भएका प्रतिनिधिहरूले आगामी निर्वाचनमा एकल बहुमतको केन्द्रीय सरकार बनाउने संकल्प र नेतृत्वको निर्देशन लिएर फर्किएका छन् ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथिका सुझाव र प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा एमालेको एकल वर्चश्व कायम गर्ने कार्यदिशा राजनीतिक प्रतिवेदनमा रहेको र सोही अनुसार लाग्न विधान महाधिवेशनका प्रतिनिधिहरूलाई निर्देशन दिए ।

एमालेको साथमा कुल जनसंख्याको ५१ प्रतिशत हुनुपर्ने र त्यो सम्भव रहेको भन्दै आगामी निर्वाचनपछि संघीय सरकार एकल बहुमतको हुने बताए । ओलीले त्यसो भनिरहँदा महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले गडगडाहट तालीले ओलीको अभिव्यक्तिको स्वागत गरेका थिए ।

एमालेको विधान महाधिवेशनले पार्टीलाई एकताबद्ध, सुदृढ र व्यापक जनआधारित बनाउने कार्यदिशा तय गरेको छ । सोही आधारमा निर्वाचनबाट पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने कार्यदिशा महाधिवेशनले तय गरेको छ । त्यसका लागि वडा, पालिका र निर्वाचन क्षेत्र तहमा निर्वाचनको तयारीका काममा तीब्रता दिने, मतदाता नामावली लगायत कानूनी र प्राविधिक पक्षलाई चुस्त राख्ने रणनीति पनि महाधिवेशनले तयार गरेको छ ।

वर्तमान सरकार सञ्चालन गरिरहेको गठबन्धन दक्षिणपन्थी अवसरवादी भएको र त्यसले सञ्चालन गरेका गलत कामको विरोध गर्ने पार्टीको कार्यभार महाधिवेशनले पारित गरेको छ ।

७० वर्षे उमेर हदको व्याख्या, पोलिटब्युरो हट्यो

विधान महाधिवेशनले एमालेको केन्द्रदेखि स्थानीय तहसम्मको संगठनको स्वरूप निर्धारण गर्ने गरी पार्टीको विधान संशोधन गरेको छ । संशोधित विधान अनुसार, केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ । केन्द्रमा तीन वटा संरचना हुनेछन् । जसमा केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र अध्यक्षको नेतृत्वमा पदाधिकारी सहितको सचिवालय बन्नेछन् ।

केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । जसमा अध्यक्ष– १, वरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षहरू ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ रहने गरी केन्द्रीय कमिटीको पदाधिकारी चयन हुनेछ । एमाले दशौं महाधिवेशन पछि पोलिटब्युरो कमिटीको व्यवस्था भने हटाउने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, विधान महाधिवेशनले ७० वर्षे उमेरहद कायमै राखेर त्यसलाई व्याख्या गरेको छ । विधान महाधिवेशनले गरेको व्याख्या अनुसार कुनै पनि नेता ७० वर्ष उमेर नपुग्दासम्म पदाधिकारीमा उम्मेदवार बन्न पाउनेछन् भने पदाधिकारी रहँदा ७० वर्ष उमेर पुगे पनि उसले पूर्ण कार्यकाल काम गर्न पाउने व्यवस्था महाधिवेशनले पारित गरेको छ । विधान महाधिवेशनबाट पारित भएको यो व्यवस्था आगामी दशौं राष्ट्रिय महाधिवेशन पछि निर्वाचित हुने पार्टी संगठनमा लागू हुनेछ ।

सबै तहको कमिटीमा आधार संख्या

एमालेका कमिटीहरु अनावश्यक रुपमा ठूला र भद्दा भएको भन्दै केन्द्रीय कमिटी बाहेक सबै कमिटीको आधार संख्या तोकेको छ । अब एमालेका सबै तहका कमिटीहरु कति सदस्यीय हुने भनेर विधानले नै स्पष्ट गरेको छ ।

विधान महाधिवेशनले पारित गरेको विधान अुनसार अब एमालेका सबै कमिटीको आधार संख्या ५० हुनेछ । प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिने व्यवस्था महाधिवेशनले पारित गरेको छ ।

जस्तै कर्णाली प्रदेशमा आधार संख्या ५० हुने । कर्णाली प्रदेशमा १२ निर्वाचन क्षेत्र छन । ती प्रत्येक निर्वाचन क्षेत्रबाट पाँच–पाँच जनालाई थपेर ११० जनाको प्रदेश कमिटी बन्नेछ । यो प्रदेश कमिटीको अ अधिकतम संख्या हो ।

त्यस्तै जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिने छन् । पालिका कमिटीमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन् । सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्थासमेत विधानमै राखेर पारित गरिएको छ ।

१५ सदस्यीय निर्वाचन आयोग

नेकपा एमालेको विधान महाधिवेशनले १५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग बनाएको छ । विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय आयोग सर्वसम्मत चयन भएको हो ।

आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल ,टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् ।

दशैं राष्ट्रिय महाधिवेशन बुटवलमा

एमालेले आगामी मंसिरको १० देखि १३ सम्म आयोजना गर्ने भनेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना गर्ने घोषणा गरेको छ । पहिलो विधान महाधिवेशन समापनको घोषणा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना गरिने बताए । उक्त महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्