
प्रतिनिधि सभाका सभामुखको विषयमा नेकपा एमालेका सांसदले मर्यादाविपरीत राष्ट्रिय सभामा अमर्यादित शब्द बोलेको भन्दै माधव नेपालको समर्थनमा निर्वाचित स्वतन्त्र सांसद खीमलाल देवकोटाले आपत्ति जनाएका छन् ।
उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नमिल्ने भए पनि एमालेले कारवाही गरेका १४ सांसदको विषयलाई लिएर सदनमा भइरहेको विरोधप्रति आपत्ति जनाएका हुन् ।
राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरूमा एमाले सांसद दीलकुमारी रावल पार्वतीले बोल्दै गर्दा देवकोटाले नियमापत्ति गरेका थिए । ‘सार्वभौम सत्तासम्पन्न संसदमा सांसदले बोल्न पाउनु नैसर्गिक अधिकार र मौलिक हक हो । अधिवेशन शुरू भएको एक महिनासम्म बोल्न दिइएको छैन । सांसदको मानव अधिकार हनन गरिएको छ,’ देवकोटाले भने ।
उनले संसद नियमावली विपरीत सभामुखप्रति राष्ट्रिय सभामा अपमानजनक अभिव्यक्ति दिइएको आरोप लगाए । ‘अदालतमा विचाराधीन विषयमा कुरा गर्न पाइँदैन, संविधानले अदालतमा विचाराधीन विषयमा कुरा गर्न पाइँदैन भनेको छ, प्रतिनिधि सभामा संविधानले निषेध गरेको विषयमा हुलहुज्जत गर्न मिल्छ ?,’ देवकोटाले प्रश्न गरे ।
देवकोटाले संसदीय अभ्यासमा संसदके नियमावली पालना नगर्नुलाई अपराध मानिने भन्दै एमालेको विरोध आपत्तिजनक भएको बताए । ‘प्रतिनिधि सभाको विषयलाई लिएर राष्ट्रिय सभामा खाँबो चिथोर्न पाइन्छ ?,’ उनले प्रश्न गरे ।
तर राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सभामा छलफल नभएको भन्दै नियमापत्ति खारेजयोग्य भएको बताए ।
एमालेको अवरोधका बाबजुद राष्ट्रिय सभामा सरकारले महालेखा परीक्षकको ५८ औं प्रतिवेदन पेश गरेको छ ।