रूपन्देहीको शुद्धोधनमा आइतवार राति एक मजदुरको हत्या भएको छ ।
शुद्धोधन गाउँपालिका–३, वेतानीमा रहेको स–मिलमा कार्यरत पश्चिम नवलपरासी सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको हो । घटनामा अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले गम्भीर घाइते चमारलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । सोही उद्योगका कार्यरत भारतीय नागरिक रवी सिंहले चमारलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।
सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको छ ।
‘आपसी झगडामा विवाद उत्पन्न भएपछि घटना आक्रमणमा पुगेको देखिन्छ, मादक पदार्थ पनि सेवन गरेका रहेछन्,’ डीएसपी थापाले भने, ‘घटना अनुसन्धानकै क्रममा छ ।’
खुकुरी प्रहार गर्ने रविलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।