
बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन शुरू गरेको छ ।
चाडपर्व शुरू भएसँगै बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो ।
दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद) मा केन्द्रित भएर बजार अनुगमनलाई तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।
उनका अनुसार चाडपर्व शुरू भएसँगै दैनिक ६ समूहबाट बजार अनुगमन भइरहेको छ । ‘हाम्रो काम नै बजार अनुगमन हो । हामी निरन्तर अनुगमनमै हुन्छौं । चाडपर्व शुरू हुनुभन्दा अगाडि दैनिक २/३ समूहबाट अनुगमन हुने गरेकामा हामीले बढाएर दैनिक ६ समूहलाई बजारमा पठाउने गरेका छौं,’ उनले भने, ‘अन्य समयको तुलनामा चाडपर्व नजिकिएसँगै ४० प्रतिशत कारोबार हुने हुँदा अनुगमन बढाएका हौं ।’
उनले उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु बिक्री वितरण गर्न सक्ने भन्दै चनाखो हुन आग्रह गरे । ‘उपभोक्ता ठगिनबाट बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौं । हामीसँगै आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ,’ उनले भने ।