
सिके राउतको जनमत पार्टीले सोमवार जनकपुरमा प्रदेश २ सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै सो पार्टीले राजीनामा पनि माग गरेको छ ।
उनीहरूले ‘साइकल चोर- सरकार छोड् । भ्रष्ट सरकार-राजीनामा दे १ मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित 'मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान'मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।
२०७६ असार १६ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरी ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो। त्यसक्रममा अनियमितता भएको कुरा महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ ।