
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्यले सीमा नाकाको आवागमनलाई सहज बनाउन मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।
कोरोना संक्रमणका कारण डेढ वर्ष अघिदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्ड सहितको आवागमनलाई सहज बनाउन उनले निर्देशन दिए ।
६६औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार आयोजना गरेको ‘अमर प्रहरी स्मारक’को उद्घाटन कार्यक्रममा बोल्दै डीआईजी आचार्यले चेकजाँचका नाममा नागरिकलाई अनावश्यक दुःख नदिन पनि निर्देशन दिए ।
चाडपर्व नजिकिँदा भारतबाट नेपाल आउने नागरिकको चाप बढ्ने भएकाले स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै शान्ति सुरक्षाको प्रत्याभूतिसहित सहज आवागमनको व्यवस्था मिलाउन आचार्यले निर्देशन दिए ।
नागरिकले प्रहरीसँग धेरै अपेक्षा राखेको जनाउँदै डीआईजी आचार्यले प्रहरीको व्यवहारमा अझ सुधारको खाँचो रहेको औंल्याए । कानून बमोजिमका व्यवसायको सञ्चालनलाई सहज बनाउँदै नाकाबाट हुने अवैध कार्यलाई निरुत्साहित गर्न प्रहरीले कुनै कसर बाँकी नराख्न पनि उनले सीमा नाकाका प्रहरी इन्चार्जलाई निर्देशन दिए ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोजकुमार यादवले तस्करी नियन्त्रणमा आफूले कुनै कसर बाँकी नराखेको जनाउँदै आफू सरुवा भएर आएको ३ महिनाको अवधिमा साढे ३ करोड बराबरका अवैध सामान बरामद गरी भन्सार र राजस्व कार्यालय पठाएको जानकारी दिए ।
यसैबीच, सीमा नाकाबाट हुने तस्करी कार्य नियन्त्रणमा उल्लेखनीय कार्य गरेको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय महेन्द्र यादव र नरेश कुर्मीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।