२३ जेठ २०८३, शनिबार

कालोबजारी रोक्न र सहज आवागमनको व्यवस्था मिलाउन राष्ट्रिय सरोकार समितिको निर्देशन

कालोबजारी रोक्न र सहज आवागमनको व्यवस्था मिलाउन राष्ट्रिय सरोकार समितिको निर्देशन

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले दशैंको मुखमा बजारमा भइरहेको कालोबजारी रोक्न र सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध हुने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलवार बसेको बैठकले गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

'दशैंतिहार, छठ, नेपाल संवत्, बकर ईद, ल्होसार लगायतका महत्वपूर्ण चाडपर्वहरूको आगमनसँगै हरेक वर्ष बजारमा दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको, हरेक वर्ष मूल्य वृद्धिको समस्याले आम नागरिकहरू आक्रान्त भइरहने साथै सुरक्षा व्यवस्था समेत कमजोर हुने गरेको सन्दर्भमा देशभर शान्ति सुव्यवस्था कायम गर्न, कृत्रिम अभाव सिर्जना हुन नदिई कालोबजारी रोक्न, यी चाडपर्व शुरू हुनुभन्दा अगाडिदेखि नै आधारभूत सामग्रीको अस्वभाविक मूल्य वृद्धिमा नियन्त्रण गर्ने र चाडपर्वको समयलाई मध्यनजर गरी तत्काल सुपथ मूल्य पसलको अवधि र क्षेत्रगत दायरा विस्तार गरी समयमा गुणस्तरीय, स्वस्थकर खाद्य, मासुजन्य वस्तु सुलभ र सुपथ मूल्यमा आपूर्तिको व्यवस्था सुनिश्चित हुने गरी कार्य गर्न गराउन नेपाल सरकार गृह मन्त्रालय/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,' समितिको निर्णयमा भनिएको छ ।

साथै दशैंमा घर फर्किने यात्रुहरूलाई सहज रूपमा आवागमनको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले जानकारी दिइन् ।

'चाडपर्वहरूको अवसरमा यात्रुको आवागमन अत्यधिक हुने गरेको साथै यसै समयमा हवाई भाडा समेत वृद्धि भई आमनागरिकलाई मर्का परेको सन्दर्भलाई मध्यनजर गर्दै यात्रुहरूलाई सहज ढंगले आवागमनको व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि भएको छ,' सभापति रावलले भनिन् ।

समितिले कोरोनाको सम्भावित जोखिमलाई ख्याल राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर चाडबाड मनाउन नागरिकहरूमा अपिल समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्