नेपाली सेनाको विभागीय टीम त्रिभुवन आर्मी क्लब मातहत १३ वर्षमुनिका खेलाडी संलग्न रहने (यू–१३) फूटबल युथ एकेडेमी स्थापना भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जंगी अड्डामा मंगलवार आयोजित कार्यक्रममा खेलाडीलाई फूटबल हस्तान्तरण गरी सेनाको पहिलो युथ एकेडेमी सञ्चालनमा आएको घोषणा गरे ।
अखिल नेपाल फूटबल संघ (एन्फा) को सहयोगमा एकेडेमी सञ्चालनमा आएको हो ।
त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स लिएपछि १३ वर्षमुनि र १८ वर्षमुनिका खेलाडीको टीम क्लब मातहत रहनुपर्ने प्रावधानअनुसार एकेडेमी स्थापना गरिएको हो । एकेडेमी स्थापना हुनुअघि मुलुकभरबाट पहिलो चरणमा १६६, दोस्रो चरणमा ७२ र तेस्रो चरणमा ४२ जना युथ खेलाडी छनोट गरिएको थियो ।
छनोट भएका ती खेलाडीलाई सुरक्षा निकायका ३ विभागीय टोलीमा १४–१४ जनाका दरले गोलाप्रथाद्वारा विभाजन गरिएको थियो । सेनाले १४ मध्ये अतिविपन्न युथ खेलाडीलाई सैनिक महाविद्यालयमा अध्यानार्थ पूरा छात्रवृत्ति प्रदान गरेको छ ।
त्रिभुवन आर्मी क्लबले खेलाडी उत्पादन गर्ने मुख्य स्रोतको रूपमा रहेको एकेडेमीलाई पूर्णता दिन देशभरका सैनिक विद्यालयबाट उत्कृृष्ट १५० खेलाडी एकीकृत गराई त्यसमध्येबाट ११ जना खेलाडी छनोट गरेको थियो । सेनाले अघिल्लो छनोटमा परेका १४ र पछि छानिएका ११ समेत गरी २५ युथलाई भदौ २७ गतेबाट प्रशिक्षण दिँदै आएको छ ।
एकेडेमी स्थापनाका अवसरमा आयोजित (अण्डर–१३) मैत्रीपूर्ण फूटबलमा नेपाली सेनाका उपसेनानी भरत खवासको कप्तानीमा सेतो–हरियो जर्सीमा रहेको टीमले सहसेनानी जर्ज प्रिन्स कार्कीको नेतृत्वमा सेतो–निलो जर्सीमा रहेको फूटबल टीमलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्यो ।
कप्तान खवास टिमका १५ नम्बर जर्सीमा रहेका दक्ष लामाले प्रहार गरेको बललाई निकेश श्रेष्ठले रोक्ने क्रममा आत्मघाती गोल भएको थियो । सो अवसरमा खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराइएको खेल सामग्री हस्तान्तरण गरियो । एकेडेमी घोषणा कार्यक्रममा प्रधानसेनापति शर्माले विलक्षणयुक्त प्रतिभावान खेलाडीद्वारा भएको खेल प्रदर्शनीबाट आफू ज्यादै प्रभावित भएको बताए ।
उनले भने, ‘खेलकुदले मनोरञ्जनका साथै अनुशासन, दृढता, जुझारुपन, सामूहिक भावना लगायतका महत्त्वपूर्ण मानवीय गुण विकास गर्न योगदान पुर्याउँछ । नेपाली फुटबलको भविष्य उज्ज्वल छ ।’
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुदको विकास गर्ने क्रममा मुलुकका ६० स्थानमा खेल केन्द्र सञ्चालन गरेकामा सेनाले ४ स्थानमा सहयोग पुर्याइरहेको जानकारी दिए ।
उनले भने, ‘अहिले जुम्लामा पनि सेनासँग सहकार्य गरेर खेल सेन्टर सञ्चालन गर्ने तयारीमा छौं । नेपाली फूटबल खेलाडी उत्पादनमा सेनाले महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । आगामी शैक्षिक सत्रमा यू–१३ महिला खेलाडी तयार गर्न एन्फाले सहयोग गर्नेछ ।’
नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले मुलुकको खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने हेतुले तहगतरूपमा क्षमतावान र उत्कृष्ट खेलाडी तयार गर्ने क्रममा एकेडेमीको स्थापना भएको जानकारी दिए ।
प्रधानसेनापति शर्माको कमाण्ड मार्ग निर्देशनमा युथ एकेडेमी शीघ्र सञ्चालनमा घोषणा गरिएको थियो ।