
कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइनको निर्माण सकिएको छ ।
पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सकिएको हो ।
नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बंैकद्वारा धनकुटाको हिलेमा सोमवार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेजअन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको थियो ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकबाट दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।
कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करीब एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करीब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करीब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिने विद्युत् प्राधिकरणले जनाएको छ ।
साथै १ नम्बर प्रदेशका जिल्लाहरूमा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने दाबी पनि गरिएको छ ।
करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि २५ फेब्रुअरी २०१६मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयनमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर (करिब ४ अर्ब) छ ।
दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाइ २०१८मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करीब २ अर्ब ९१ करोड) छ ।
तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने प्राधिकरणले जनाएको छ ।