
लुम्बिनी प्रदेश सरकार प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधवार प्रदेश सभा, बुटवलमा नयाँ बजेट प्रस्तुत गरे ।
मन्त्री खड्काले आर्थिक वर्ष २०७८/०७९ लागि ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । यो बजेट अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटकै आकारको हो ।
नयाँ सरकार बनेसँगै बजेटलाई प्रतिस्थापन विधयेकमार्फत संशोधन गरेको हो । बजेट प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गरेको छ ।
कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रूपैयाँ र पूँजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख ९५ हजार रूपैयाँ रहेको छ ।
प्रतिशतका आधारमा कूल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पुँजीगत खर्चतर्फ हुन आउँछ ।
त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रूपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ । अघिल्लो सरकार अल्पमतमा परेकाले प्रदेश सभाबाट पारित गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याएको थियो । लुम्बिनीमा २८ साउनमा चार दलीय गठबन्धनको नयाँ मिलीजुली सरकार बनेको थियो ।
मुख्यमन्त्री कूलप्रसाद केसीले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरूमा परिवर्तन गर्नका लागि सरकारले बजेट संशोधन गरिने पदभार ग्रहण गरेपछि बताएका थिए ।
नयाँ बजेटले अघिल्लो सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज भएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोग सेवालाई प्रभावकारी गराउन क्याथल्याब निर्माण गर्ने भएको छ ।
क्याथल्याब निर्माण गर्न १० करोड रूपैयाँ विनियोजन गरिएको छ । उक्त कार्यक्रमलाई मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका रुपमा कार्यान्वयन गरिने उनले बताए ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले शुरू गरेको यस कार्यक्रम प्रभावकारी नभएकाले खारेज गरिएको मन्त्री खड्काले बताए ।