
काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । तर ट्याक्सीका हकमा यो नियम लागु हुनेछैन । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ जिल्ला छन् ।
काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो ।