
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारी पौडेल मृत्यु प्रकरणमा पक्राउ परेका तीन जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौडेल, जेठाजु हरि पौडेलले र आमाजू दिदी बिष्णु पौडेललाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार रुपन्देही जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेश अनुसार तिनै जनालाई पुर्पक्षको लागि कारागार पठाइएको हो । तिलोत्तमा ५ की सीता भण्डारी भदौ २० मा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।
उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।
तर, प्रहरीको निष्कर्ष मान्य नभएको भन्दै मृतकका माइती तथा स्थानीयले निरन्तर आन्दोलनमा छन् । सीताको हत्या भएको दाबी गर्दै सत्यतथ्य पत्ता लगाउन माग राखेका छन्। मृत्यु भएको महिना बित्न लाग्दासमेत सीताको शव उठेको छैन ।