न्याय माग्न नेपालगञ्जबाट पैदलै काठमाडौं आएकाहरूको कथा: गिट्टीमा सुते, पहिरोबाट धन्न जोगिए [भिडियोसहित]

महिला हत्याविरुद्ध न्यायको माग गर्दै बाँकेको नेपालगञ्जबाट २० दिनसम्म पैदल हिँडेर १३ जना महिलाहरू तथा ३ पुरुषहरूसहित १६ जनाको टोली असोज २० गते काठमाडौं आइपुगेका छन्।


Advertisement

असोज २१ गते उनीहरू दशरथ रंगशालाको प्रवेशद्वार अगाडिको फूटपाथमा थकाइ मारिरहेको अवस्थामा भेटिए । एक महिला त्यही फूटपाथमा ब्याग सिरानी हालेर सुतेकी थिइन् ।


Advertisement

केही महिला फूटपाथमा बसिरहेका थिए । एउटा/ एउटा ब्याग, टेक्ने लौरो लिएर उनीहरू नेपालगञ्जबाट हिँडेर आउँदा धेरैजसोको खुट्टामा ठूल्ठूला फोका आएका थिए ।​ धेरैजसोको खुट्टाको पैँताला फाटेको थियो।


Advertisement

एक दिनमा न्युनतम ३५ किलोमिटर पैदल यात्रा गरेको, बढीमा ४२ किलोमिटरसम्म पैदल यात्रा गरेर उनीहरू न्यायको माग गर्दै काठमाडौंसम्म आइपुगेका छन्।

बिहान ५ बजेबाट हिँड्न शुरू गर्दै कुनै दिन साँझ ५ बजे त कुनै दिन ७ बजे, १० बजे र १२ बजेसम्म पनि पैदल हिँडेर आएको उनीहरू बताउँछन्। कुनै–कुनै दिन बिहान ३ बजे पनि हिँड्न शुरू गरेर राति १० बजेसम्म, कुनैदिन अलि ढिलो हिँड्न शुरू गरेको र दिनरात गरि १२ बजेसम्म पनि जंगल, पहाडको बाटो भएर पैदल गरेको रुबी खानले बताइन् ।

'बाटोमा हिँड्दा कहिल्यै भोको पेट त कहिल्यै पानी समेत खान नपाएर हामीले यात्रा गरेका छौं,' खानले लोकान्तरसँग भनिन्, 'हिँड्दा खुट्टा सुनियो, खुट्टामा फोकाफोका भएर हिँड्नै नसक्ने अवस्थासम्म आएको थियो ।'

घुँडा दुख्ने, ढाड दुख्नेदेखि भोको पेट सडकको फूटपाथमा सुत्नेदेखि मन्दिर, टिनको छाप्रोसहितको पसल, खुला आकाशलाई छत मानेर सुतेको उनले बताइन्।

बाटो हिँड्दा कहिले भोको पेट त कहिले च्युरा, भुजा खाएर आएको उनले सुनाइन् । 'बाटोमा पानी खान नपाएपछि खोलाको बालुवासहितको पानी समेत खायौं । फूटपाथमा गिट्टीमैं सुत्यौं,' उनले थपिन्, 'कुनै दिन मन्दिरमा त कुनै दिन सडकको फूटपाथमा अनि कुनै दिन सहयोगी संस्थाले उपलब्ध गराउने होटलमा बास बस्नुका साथै कुनैदिन गोठमा समेत बास बसेका थियौं ।'

रातिमा जंगली जनावरको डर हुने र सुत्ने बेला सवारी साधनको चर्को हर्न बज्ने हुनाले सुत्न पनि समस्या हुने गरेको उनले बताइन् ।

'सुत्नका लागि न त ओछ्याउन थियो न ओढ्नका लागि कुनै लुगा,' खानले भनिन्, 'हामीले आ-आफ्नो सल, च्यादर ओढेर फूटपाथमा सुत्थ्यौं । सुत्दा फूटपाथको गिट्टीले बिझाउने गर्थ्यो ।'

पहाडतिर आउँदा जाडो बढी लागेर हामी थरथर काँप्ने स्थिति उत्पन्न हुँदा सुत्नुको साटो दौडेर जाने गर्थ्यौं, दौडिएपछि जिउमा गर्मी आएर जाडोलाई छल्ने गरेको उनले बताइन् ।

'भालुवाङमा आउँदा पहिरो गएको थियो। उक्त पहिरोबाट हामी धन्न बाँच्न सफल भयौं,' उनले भनिन्, 'हामीमध्ये तीनजना महिला थोरैले मात्र ठूलो ढुंगाले थिचिन र पुरिनबाट जोगिएका थियौं ।'

बाटोमा बिरामी भए पनि कतिपय अवस्थामा औषधि समेत खान नपाई हिँडेको उनले बताइन् ।

पहाड, नदी, खोला, पहिरो, सबै दृश्य देखेपछि काठमाडौं पुग्न सकिन्न कि भनेर आत्मबल पनि कमजोर हुने गर्थ्यो। तर यहाँसम्म आइपुगेपछि जसरी पनि काठमाडौंसम्म पुग्नै पर्छ भनेर एकले अर्कालाई आपसमा भरोसा दिएर आएको खानले सुनाइन्।

खुट्टामा फोका आएपछि हिँड्न समस्या हुँदा हातमा रहेको लाठीले ठूलो सहारा दिएको उनले बताइन्।

यसरी अनेक दुःख, झेल्दै २० दिनसम्म पैदल यात्रा गरेर उनीहरू नेपालगञ्जबाट काठमाडौं आइपुगेका छन्।

बाँकेको नेपालगञ्ज उप-महानगरपालिका तथा वरपरका गाउँका समेतका १६ जनाको टोली अहिले काठमाडौंमा छ ।

३५ वर्षिया शिला धोबी, ३४ वर्षीया रुबी खान, ४५ वर्षीया आवदा दर्जी, ४० वर्षीया खतुना बेना, ४५ वर्षीया सलिमुं बेना, ४५ वर्षीया विट्टा धोबी, ४५ वर्षीया गीता चमार, ४२ वर्षीया गुर्जी कोरी, २० वर्षिया बब्ली धोबी, २४ वर्षीय राहुल शेख, २५ वर्षीय सियाराम धोबी, ३८ वर्षिया रिना रैदास, ४५ वर्षिया बानो दर्जी, ३५ वर्षिया सकिना तेली, १५ वर्षीय माताप्रसाद धोबी, ३५ वर्षिया सायदा दर्जी गरी १६ जना काठमाडौं आएका छन्।

उनीहरू नेपालगञ्जमा भएको दुईजना महिलाको हत्याको घटनामा न्यायका लागि संघर्ष गर्न तथा बाटोमा समेत नेपाली नागरिकको ऐक्यबद्धता तथा समर्थनसहित काठमाडौंको सिंहदरबारलाई दबाब दिने उद्देश्यले ४९८ किलोमिटर दूरी पैदल यात्रा गरेर आएका हुन्।

के हो घटना?

उनीहरूले न्याय मागेको घटना एउटा घरेलु हिंसासँग सम्बन्धित छ भने अर्को अपहरण, शरीर बन्धक गरी कर्तव्य गरी हत्या गरेको घटना हो ।

नेपालगञ्जको जानकी गाउँपालिका वडा नम्बर २ की नन्कुनी धोबीलाई उनका श्रीमान्, जेठाजुलगायत सदस्यहरूले घरेलु हिंसा गर्दै आएको अवस्थामा त्यहाँको महिला अधिकार मञ्चमा पहिलेदेखि नै उजुरी परेको थियो। तर उक्त हिंसाविरुद्ध प्रहरीकोमा जाँदा पनि केही सुनुवाइ भइरहेको थिएन । त्यसपछि २०७८ साउन ५ गते उनको हत्या नै भएको खानले बताइन् ।  

उक्त हत्याको विरोधमा मृतककी आमाले जाहेरी  दिन खोज्दा जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जले जाहेरी दर्ता नै नगरेको महिला अधिकारकर्मी समेत रहेकी खानले बताइन्। प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी र प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जाहेरी दर्ता नगरेर फ्यालिदिएको, पीडित परिवारसँग अभद्र व्यवहार गरेको खानको आरोप छ । जाहेरी दर्ता गर्नुको साटो जाहेरी लिएर जाने पीडित परिवारलाई नै उल्टै थुनिदिन्छु, मुद्दा लगाइदिन्छु भनेर एसपी न्यौपानेले धम्की दिएको उनले बताइन् ।

त्यसपछि जाहेरी दर्ता गर्न माग गर्दै उनीहरू जिल्ला प्रशासन कार्यालय, नेपालगञ्जको अगाडि १९ दिनसम्म धर्ना बसे। 'धर्ना दिएको आठौँ दिनमा आएर प्रहरीले जाहेरी दर्ता गर्‍यो तर मृतक नन्कुनीका श्रीमान् रामकुमार धोबी र जेठाजु एतवारी धोबी गरी दुई जनाको मात्र जाहेरी लियो,' खानले भनिन्, 'जबकि उक्त घटनामा उनको ससुराली पक्षका अन्य सदस्यहरूसहित ५ देखि ६ जनासम्मको संलग्नता थियो ।'

धर्ना बसेको १५ औं दिनमा मात्र प्रहरीले मृतकको श्रीमान राजकुमारलाई पक्राउ गर्‍यो । तर जेठाजुलाई पक्राउ गरिरहेको थिएन। 'नेपालगञ्जबाट काठमाडौंका लागि हामीले पैदल यात्रा शुरू गरेको पाँचौं दिनमा मात्र प्रहरीले जेठाजु एतवारी धोबीलाई पक्राउ गर्‍यो,' खानले भनिन्।

त्यसैगरी २०७७ पुस १६ गते हत्या नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १७ की निर्मला कुर्मीको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने माग समेत उनीहरूले गरेका छन् ।

महिलाअधिकारकर्मी खानले पूर्व संविधान सभा सदस्य बादशाह कुर्मीले निर्मला कुर्मीलाई अपहरण गरेर शरीर बन्धक बनाई हत्या गरेको आरोप लगाइन् ।

२०६४ सालमा आफ्ना २ छोरालाई समेत विष खुवाएर बादशाह कुर्मीले नै हत्या गरेको निर्मलाले बताउँदै आएकी थिइन् । पछि उनको नै हत्या भयो ।

'आफ्नो छोराहरूलाई बादशाह कुर्मीले हत्या गरेर पोस्टमार्टम समेत गर्न नदिएको, छोराहरूको मुख समेत हेर्न नदिएर चौरीमा लगेर जलाइदिएको भन्दै निर्मलाले न्याय पाउनका लागि ठूलो संघर्ष गरिरहेकी थिइन्,' खानले भनिन्, 'त्यस मुद्दाको पनि जाहेरी दर्ताका लागि संघर्ष गरिरहेकी निर्मलालाई अपहरण गरेर २०७७ पुस १६ गते हत्या गरिदियो ।'

निर्मलाको सम्पत्ति समेत मालपोत कार्यालयमा रोक्का गराएका कुर्मीले एकल महिलाको नाममा रहेको करोडौंको सम्पत्ति हत्याउने उद्देश्यले निर्मला र उनका छोराहरूको हत्या गरेको खानको आरोप छ । ५० करोड रुपैयाँभन्दा माथिको सम्पत्ति पूर्व सांसद कुर्मीले आफ्नो नाममा गराएको उनले बताइन् ।

कुर्मीलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिँदा जाहेरी समेत दर्ता गर्न नमानेपछि त्यहाँका महिला अधिकारकर्मीसहित उक्त गाउँका मानिसहरू धर्नामा बसेपछि २०७८ भदौ १० गते आएर मात्र प्रहरीले जाहेरी दर्ता गरेको छ । 'तर कुर्मीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्नेमा त्यसो नगरी पक्राउ गरिएको भनेर झुटा कागज प्रहरीले तयार गरेर सरकारी वकिलको कार्यालयमा बयान गराएर उक्त मुद्दालाई अहिले मुल्तबीमा राखिएको छ,' खानले भनिन्।

यसरी ती दुईजना महिला हत्याको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान नै नगरेका कारण राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री समेतलाई भेटेर न्याय माग्न काठमाडौं आइपुगेको उनले बताइन्।

'सबैको ध्यानाकर्षण होस्, हाम्रो संघर्ष पनि सबैले बुझुन् भनेर हामी दुःख गरेर काठमाडौंसम्म पैदल यात्रा गर्दै आएका छौं,' खानले भनिन्, 'जबसम्म हामीले न्याय पाउदैनौं तबसम्म यहीँ बस्छौं, सिंहदरबारलाई दबाब दिन्छौं ।'

हेर्नुहोस्, भिडियो:

अजय अनुरागी / विश्वास खनाल
अजय अनुरागी / विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्