
कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले ८० लाख रुपैयाँ मूल्य बराबरको अत्याधुनिक पीसीआर मशिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट संकलित सहयोगबाट ८० लाख रुपैयाँ मूल्य बराबरको पीसीआर मशिन १ थान, आरएनए एक्सट्रयाक्सन मशिन १ थान र पीसीआर परीक्षण किट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई बिहीवार हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले कोरोना महामारी शुरू हुँदा नेपालमा टेकु अस्पतालसँग मात्रै पीसीआर ल्याब भएकाले परीक्षणको बढ्दो चाप थेग्न नसकेको बेलामा टेकुपछिको नेपालकै दोस्रो पिसीआर ल्याब सञ्चालन गर्ने एक मात्र अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भएको बताए ।
उनले भने, ‘कोरोना महामारीको बीचमा पहिलो लकडाउन भएलगत्तै हामीले पीसीआर मशिन ल्याएर ल्याब सञ्चालनमा ल्याऔं, पीसीआर ल्याब सञ्चालन गर्ने टेकु अस्पतालपछि हाम्रो पहिलो हो, कोरोनाका दोस्रो लहरमा पनि अक्सिजन अभाव झेलिरहेकै बेलामा हामीले अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरेर अक्सिजन उत्पादन गर्ने नेपालकै पहिलो अस्पताल हुन सफल भयौं ।’