
काठमाडौं उपत्यकामा दशैंमा बेच्न खसीबोका भित्र्याउन थालिएको छ ।
कोरोना संक्रमणको जोखिम कम भएसँगै खसीबोका किन्नेको भीड बढ्न थालेको हो ।
कोरोना संक्रमण फैलिनुअघिका वर्षझैं पर्याप्त मात्रामा खसीबोका नआएका कारण मूल्यमा वृद्धि भएको छ ।
हिमाली जिल्लाबाट आउने च्यांग्राहरू पर्याप्त नआएपनि खसीबोकाहरू काठमाडौंका मुख्य बजारमा आउन थालेका छन् । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवसायी शंकर चौधरीले जानकारी दिए ।
अघिल्ला वर्षमा जिउँदो च्यांग्रा ७००–८०० रुपैयाँमा पाइने गरेकोमा अहिले १३–१४ सय रुपैयाँ मूल्य पर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । नेपालमा आउने च्यांग्रा हिमाली जिल्लाको साथै चीनको सीमावर्ती गाउँबाट आउँछन् ।
काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसीबोका आउन थालेका छन् ।
काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसीबोका बिक्री गर्दै आएको छ । कम्पनीले भोलि शुक्रवारदेखि खसीबोका बिक्री गर्ने भएको छ ।
यसबाहेक फूलपातीको दिनदेखि काठमाडौंका चोकहरूमा किसान आफैं आएर समेत खसीबोका बेच्ने गर्दछन् ।