
सत्तारूढ गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीलाई फकाउन २ प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ ।
मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको एकीकृत समाजवादीलाई बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री दिएर फकाउने प्रयास गठबन्धनका नेताहरूले गरेका छन् ।
मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा बिहीवार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
प्रभावशाली मन्त्रालय नपाएको भन्दै बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असन्तुष्टि राखेको स्रोतले बताएको छ ।
अध्यक्ष नेपालको असन्तुष्टि सम्बोधन गर्नका लागि २ प्रदेशको मुख्यमन्त्रीमा अन्य दलले दाबी नगर्ने सहमति बनेको बैठक स्रोतले बताएको छ ।
संघीय सरकारमा एकीकृत समाजवादीले भौतिक योजना तथा यातायात मन्त्रालय सहितको जिम्मेवारी मागेको थियो । भौतिक मन्त्रालयमा जनता समाजवादी पार्टीले पनि दाबी गरेपछि गठबन्धनमा भौतिक योजना जसपालाई नै दिने सहमति भएको थियो ।
एकीकृत समाजवादीले पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालयसहित एक राज्यमन्त्री पाउने भएको थियो ।
तुलनात्मक रूपमा कमजोर मन्त्रालय र संख्या पनि कम भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि राखेको थियो ।
केन्द्र सरकारको क्षतिपूर्ति बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्रीबाट गर्ने सहमति बिहीवारको गठबन्धन बैठकमा भएको छ ।
नेकपा एमाले विभाजन भएपछि बागमती र १ नम्बर प्रदेशको सरकार अल्पमतमा छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते प्रदेश सभाको नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने तयारी गरेकी छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पक्षमा बहुमत नपुग्ने निश्चितजस्तै रहेको छ ।
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागती प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
१ नम्बर प्रदेशमा पनि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा छन् । उनले आफ्नो पक्षमा बहुमत पुर्याउने प्रयास गरिरहेका भए पनि सफल हुन सकेका छैनन् ।
१ नम्बर प्रदेशमा आचार्यलाई विस्थापन गरेर एकीकृत समाजवादीका सचिव राजेन्द्र राई मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।
गठबन्धनले दुवै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेकाले पाण्डे र राई मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।