हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ ।
विगत लामो समयदेखि टावरमा खराबी देखिएपछि स्थानीय समस्यामा परेका छन् ।
नेपाल टेलिकमले राखेका २ वटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राही डाँडाकाँडा धाउन बाध्य भएका छन् । केही महिनायता ३ वटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली–२ का सुमन बुढाले गुनासो पोखे ।
अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा २ महिना लगाएर सबै टावर मर्मत गरिएको थियो तर यस वर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली–२ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नरबहादुर बोगटीले बताए ।
हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको उनले बताए ।
मुगुको सोरु गाउँपालिकास्थित सोरुमा राखिएको टावरबाट फोरजी सेवा विस्तार गर्न लागेकाले नेटवर्कमा समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ । हुम्लाको यस क्षेत्रमा नेटवर्कसम्बन्धी समस्या देखिएको ४ वर्ष पुगेको छ । तल्लो भेगका स्थानीय घण्टौं हिँडेर अग्लो डाडाँबाट फोन सम्पर्कमा जोडिने गरेका छन् ।
नेपालीको महान पर्व दशैंतिहारलगायत चाडपर्वमा शुभकामना आदानप्रदान गर्न कठिनाइ भएको बुढाले बताए ।