
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले सरकारमा जाने मन्त्रीको नाम आज पनि टुंगो लगाउन सकेन । नेकपा एकिकृत समाजबादी पार्टीको काठमाडौँमा बसेको स्थाई समितिको बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने अपेक्षा गरिएको थियो । बिहीबार सम्पन्न बैठक पछि संचारकर्मीहरु सँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रिय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए ।
सत्ता साझेदार दलहरु बीच मन्त्रालय भागबन्डा मिलाउदा जनता सँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एकिकृत समाजबादीले असन्तुष्टि जनाउँदै आएको छ । अहिले भएको सहमति अनुसार नेकपा एकिकृत समाजवादी पार्टीले शहरी विकाश मन्त्रालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने छ भने एक राज्य मन्त्रि राख्न पाउने छ ।
यस्तै स्थाई समितिको बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र संख्याको टुंगो लगाएको छ । पार्टीको अनुशासन आयोग,निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरि २५ सदस्य रहने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी पदाधिकारीमा ४ जना नेताहरुलाई मनोनयन गरेको छ । उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरूमा गरिमा शाह,जीवनराम श्रेष्ठ र भागवत विश्वासलाई मनोनयन गरेको छ । यस्तै स्थाई समितिको बैठकले बेदुराम भुसालको नेतृत्वमा रहने ५ सदस्य केन्द्रिय कार्यालय र ११ सदस्य केन्द्रिय सचिवालय बनाउने निर्णय गरेको छ । केन्द्रिय सचिवालयलाई स्थाई समितिको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकले पार्टी संरचनाको विभिन्न निकायमा रहने पदाधिकारी र संख्यालाई पनि टुंगो लगाएको छ ।