२६ असार २०८३, शुक्रबार

बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष

बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष

बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उनको दैनिकीको काम र व्यस्ततालाई आकलन गर्ने हो भने लामो सूची नै तयार हुन्छ ।

बिहान ५ः०० बजे उठेर गाई, भैँसीको स्याहारसुसार, दूध दोएर खोलापारि सहकारीको सङ्कलन केन्द्रमा पठाउने । घरमा पालिएका माछा, टर्की तथा हाँसलाई दानापानी हालेर उहाँ सोझै घाँस काट्न भिरमा पुग्छन् । घर नजिकैको खरबारीबाट घाँसको भारीसहित घरमा आएका सापकोटालाई खाना खाने समय व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्छ ।

अठचालीस वर्षीय सापकोटालाई कृषिमा आउन बुवाको प्रेरणा र परिवारको साथ छ । खाना खाएपछि उनी टनेलमा तरकारीको स्याहारसुसारमा लाग्छन् । उनले दैनिकरूपमा उत्पादन भएका माछा, तरकारी, दूधलगायत कृषि उपज सहकारीको दूध सङ्कलन गर्न पुगेको सवारीमा बागलुङ बजार पुग्छन्। सामान्यतया कृषकले तरकारी खेतीमात्रै अथवा पशुपालनमात्रै गर्दै आए पनि उनले कृषि उपजमा बहुआयामिक हिसाबले काम गरेका छन् ।

तीस वर्षदेखि कृषि पेशामा सक्रिय उनले कृषिका अनेक पाटामा अनुभव सँगालेका छन् । उनको कालीगण्डकी पशुपालन तथा कृषि फार्म नौ रोपनी क्षेत्रफलमा फैलिएको छ । उनको फार्ममा अहिले १५० टर्की, ६० हाँस, पोखरीमा १० हजार माछा, पाँच गाई, दुई भैँसी र आठ प्लाष्टिक टनेलमा तरकारी छ ।

“सानैदेखि कृषिमा लगाव थियो, वैदेशिक रोजगारीमा ध्यान गएन, बुवाले गरेको परम्परागत कृषिखेतीलाई विस्तारै आधुनिकतामा ढाले, प्रविधियुक्त कृषि प्रणाली अपनाउँदै आएँ”, कृषक सापकोटाले भने, “ विसं २०७२ देखि यसलाई कृषि तथा पशुपक्षी फार्मका रूपमा विकास गरेँ, अहिले वार्षिक रु १४/१५ लाखको कृषि उपजलाई बजारीकरण गर्दै आएको छु, कारोबारको ४० प्रतिशत खुद नाफा हुन्छ होला, जे होस् सन्तुष्टि छ, परिवारको यसमा ठूलो साथ छ ।”

फार्म सञ्चालनका लागि साढे तीन रोपनी जग्गा आफ्नै छ । अन्य जग्गा वार्षिक रु ८० हजार भाडा तिरेर कृषि गर्दै आएको उनी बताउँछन् । उनले टनेल बाहेकको पाँच रोपनी जग्गामा काउली बन्दाका बिरुवा लगाएका छन् । 

गत असार र साउनमा मात्रै रु डेढ लाखको गोलभेँडा बिक्री गरेको उनले बताए । बाह्रै महिना मौसमी, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्दै आएको उनको भनाइ छ । “अहिले मसँग दुई हाइटेक टनेल र अन्य फलामे टनेल छन्, त्यसमा थोपा सिँचाइ र मल्चिङ प्रविधिको प्रयोग छ”, उनले भने, “आधुनिक प्रविधिसँगै कृषि उत्पादनमा वृद्धि भएको उनको अनुभव छ ।”

उनले एक जनालाई रोजगारी दिएका छन् भने श्रीमती चित्रकुमारी र छोरा सागरले सघाउँदै आएका छन्  । धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका सागरले क्याम्पसको अध्ययन समयपछि कृषि फार्मलाई समय दिने गरेको बताए ।

सापकोटा परिवारले सहकारीमार्फत दूध बिक्री मात्रै गर्दैनन्। अन्य किसानलाई समेत दूध उत्पादनमा प्रेरित गर्दै सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वसमेत गर्दै आएका छन् । सहकारीले अहिले दैनिक २०० लिटर दूध बजार पठाउने गरेको छ ।

सापकोटाले अहिले ३० लिटर दूध दैनिक बजार पठाउने गरेको बताए । तीन वर्षअघिदेखि पाल्न थालेको टर्की, हाँस तथा माछाले पनि उत्पादन दिइराखेका छन् । फार्मबाट माछा प्रतिकिलो रु ४००, टर्कीको तयारी मासु रु एक हजार र हाँस जिउँदो प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको छ । खेमराज गौतम,रासस

salt training

कमेन्ट गर्नुहोस्