२८ जेठ २०८३, बिहीबार

झण्डै तीन महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मन्त्री छान्न दलहरू आन्तरिक छलफलमा

झण्डै तीन महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मन्त्री छान्न दलहरू आन्तरिक छलफलमा

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको झण्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्ने र सकभर आजै मन्त्रीहरूलाई शपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो । 

सत्तारुढ गठबन्धनबीच बिहीवार मन्त्रालय भागबण्डामा सहमति भएको थियो । मन्त्रालय भागबण्डामा सहमति भएसँगै दलहरू मन्त्री छान्न व्यस्त भएका छन् । 

नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ । 

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउन सिफारिश गरेको छ । नेकपा (एस)ले पनि मन्त्रीहरूको सम्भावित नाममा टुंगो लगाएको छ । 

शहरी विकास मन्त्रालयमा विरोध खतिवडा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्रीलाई सिफारिश गर्न लागिएको नेकपा ((एस) स्रोतले बतायो । प्रेम आले र किशान श्रेष्ठ पनि मन्त्री बन्नेको सूचीमा छन् । मन्त्रीको नाम छान्न नेकपा (एस)को सचिवालय बैठक बस्दैछ ।

जनता समाजवादी पार्टी (जसपा)ले महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, इस्तियाक राई लगायतलाई मन्त्री बनाउँदैछ । तर, मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई दिएको छ । सरकारमा उपप्रधानमन्त्री नराख्ने सहमतिपछि उपेन्द्र भने यसपटक सरकारमा सहभागी नहुने भएका छन् । 

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले पाउने बाँकी मन्त्रालयमा पठाउनको नाम तय भइसकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुई र कृष्ण सिटौलालाई एक मन्त्रीको नाम दिन प्रधानमन्त्रीले आग्रह गरेका थिए । सिटौलाले उमाकान्त चौधरीको नाम सिफारिश गरेको स्रोतको भनाइ छ । 

३ मन्त्री मागेको पौडेल पक्षले मीनेन्द्र रिजाल, सुजाता कोइराला, तेजुलाल चौधरी र दीलेन्द्र बडूलाई मन्त्री बनाउने चर्चा छ । कानून मन्त्रालय सम्हालिरहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मा दिने तयारी रहेको कांग्रेस स्रोतले बतायो । 

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । साउनमा एक राज्यमन्त्री र असोजमा एक मन्त्री थपिएका थिए । देउवाले प्रधानमन्त्रीको शपथ लिएको ८७ दिन पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्