
कोरोना महामारीका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट वञ्चित भएका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन् ।
राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालबालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो ।
कांग्रेस नेता एवं सांसद गगनकुमार थापा, डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, सिन्धुपाल्चोक जिल्लालाई प्रमुख कर्मथलो बनाएर शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले अभियानको नेतृत्व गरेका छन् ।
अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ को नाम दिइएको छ । अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिनेछ ।
नेता थापाले कोभिड महामारीका कारण अभिभावक गुमाएका बालबालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरूको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने ठानेर आफूहरूले अभियान थालेको बताए ।
‘हामी विभिन्न क्षेत्रमा सक्रिय साथीहरुबीच कोभिडमा बाबुआमा गुमाएका छोराछोरीको शैक्षिक भविष्यको बारेमा लामो छलफल हुँदा छात्रवृत्ति अभियान सञ्चालन गर्ने निष्कर्षमा पुग्यौैं,’ थापाले भने । उनले पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिशहोम नेटवर्कले लिएको र आगामी वर्ष अभियानमा संलग्न सबै र सहयोगी हातहरुलाई अपिल गरेर अभियान निरन्तर अगाडि बढाउने योजना रहेको उल्लेख गरे ।
हालका लागि छात्रवृत्तिमा आवश्यक रकमको जोहो डिशहोम परिवार (लगानीकर्ता, कर्मचारी, देशभरका डिलर तथा शव डिलर) ले गर्नेछ । यो वर्ष ४० लाख रूपैयाँ खर्च गर्ने कार्यक्रम रहेको डिशहोमका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
कोरोना कहरसँगै आर्थिक मन्दीको मार खेपेको समाजका लागि केही गरौं भन्ने उद्देश्यका साथ आफूहरूले ‘भरोसा छात्रवृत्ति अभियान’ सञ्चालन गर्न लागेको उनले बताए ।
‘कोरोनाका कारण मुख्य आम्दानी गर्ने अभिभावक गुमाएपछि शिक्षाबाट वञ्चित हुन पुगेका असहाय बालबालिकाहरूको शैक्षिक ज्ञान आर्जनको निरन्तरताका लागि अभियान थालेका हौं,’ आचार्यले भने । उनले आफूहरूको अभियानमा साथ दिन समाजको हरेक क्षेत्रमा सक्रिय युवाहरूलाई अपिल पनि गरेका छन् ।
आचार्यका अनुसार विद्यार्थी छनौट गर्दा मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाहरूलाई प्राथमिकतामा राखिने छ । तर, अभियानले सातवटै प्रदेशमा काम गर्ने उनले स्पष्ट गरे ।
फ्याक्ट नेपालले कुनै पनि प्रदेश नछुट्ने गरी कोरोनाका कारण ज्यान गुमाएकाहरूको तथ्याङ्क संकलन गरेपछि त्यसमध्येबाट निरपेक्ष गरिबीको रेखामुनि रहेका विद्यार्थी छनौट गरिनेछ । तथ्याङ्क संकलनपछि विज्ञ समूहको सुझावअनुसार डिशहोम सञ्जालमार्फत विद्यार्थीसम्म सहयोग पुर्याइनेछ । विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउनेछन् । अभियान व्यवस्थापनका लागि एक विशेष सचिवालयसमेत स्थापना गरिएको र समन्वयको काम ‘हेल्प नेपाल’ ले गर्ने जानकारी आचार्यले दिए ।
यो वर्ष शुरुआत मात्र भएकाले आगामी वर्ष अभियानलाई विस्तृत बनाउने गरी गृहकार्य भएको समेत उनले बताए ।
आफूहरुको अभियान विशुद्ध शैक्षिक चेतना अभिवृद्धिको अभियान भएकाले यसमा सबैको साथ र सहयोगको प्राप्त हुने विश्वास उनले गरे ।