२८ जेठ २०८३, बिहीबार

प्रहरी हिरासतमै थुनुवाको मृत्यु, प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रहरी हिरासतमै थुनुवाको मृत्यु, प्रदर्शनकारी र प्रहरीबीच झडप
तस्वीर सौजन्य : न्युज ब्युरो अनलाइन

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडपसमेत भएको छ । 

ढुंगामुढा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रु ग्याससमेत प्रहार गरेको छ । 

झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रुपमा थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए ।

झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षतिसमेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । 

पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरूले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको आरोप लगाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्