०४ असार २०८३, बिहीबार

काठमाडौँ महानगरको भूमिगत तलासहितको ८ तले भवन शिलान्यास

काठमाडौँ महानगरको भूमिगत तलासहितको ८ तले भवन शिलान्यास

काठमाडौँ महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ ।

भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । हालको वातावरण विभाग रहको जमिनको करीब ६ रोपनी क्षेत्रफलमा सो भवन भन्न लागेको हो ।

भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिए ।

‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर त्यहि अनुसार अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन चाहेका थियौँ । विभिन्न कारणले त्यहाँ केन्द्रीय भवन बनाउन सम्भव भएन । आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।’

उनले हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गरे । उनले राम्रो कामको सुरुवात गर्न समयसिमा नुहने भन्दै आफ्नै कार्यकालमा शिलान्यास हुँदा खुशी लागेको बताए ।  ‘रुख रोप्नु ठूलो कुरा हो,’ उनले भने, ‘यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन । त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कस्ले खान्छ भन्ने ठूलो कुरा होइन ।’ 

उनले सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए । ‘अहिले महानगरपालिकाका कार्यालय धेरै ठाउँमा छरिएर रहेकाले सेवाग्राहीलाई सेवा लिन समस्या हुदै आएको छ,’ शाक्यले भने, ‘हामीले एउटै थलोबाट भोलि होइन आज, आज होइन अहिले नै सेवा दिनुपर्छ भन्ने प्रतिवद्धता अनुसार हामीले सेवा दिन सकिरहेका थिएनौँ । अब यो भवन निर्माणपछि सेवा सहज र सुलभ हुने र सबैले एउटै स्थानबाट सेवा प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।’ 

उनले केन्द्रीय भवन पनि सुविधासम्पन्न हुने जानकारी दिए । ‘हामीले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने गरेको थियो,’ उनले भने, ‘अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजान्छौँ । वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । हामीले निर्माण गरेका र निर्माण भैरहेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ ।’ हरिभवनमै केन्द्रीय कार्यालय बनाउने योजना भए पनि केहीले व्यक्तिगत स्वार्थ राखेर गरेको विरोधका कारण सम्भव नभएको भन्दै उक्त भवनको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए । 

उनले निरन्तर जनताको सेवामा रहने हो भने राजनीतिमा पूर्णविरामा नहुने नहुने पनि प्रष्ट पार्नुभयो । ‘म जनताको चाहनाले मेयर भनेको हुँ,’ उनले भने, ‘त्यसैले जनताको सेवा गर्दा केही विवाद आउँछन् । ती विवादबाट भागेर होइन व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’

उनले विगतमा रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, कमलपोखरी पुर्ननिर्माणका सिलसिलामा विवाद गर्नेहरुले पनि अहिले पश्चताप गरिरहेको बताए । ‘अहिले महाराजगञ्जमा निर्माण गर्न लागेको दमकल भवनका सन्दर्भमा पनि केहीले विवाद गर्न खोजेका छन्,’ उनले भने, ‘हामी सबैसँग बसेर छलफल गरेर व्यवस्थापन गरेर अघि बढ्छौँ ।’ 

कार्यक्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतले पनि सम्वोधन गरेका थिए ।       

महानगरपालिकाले दिएको जनकारी अनुसार करीब ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको छ । भूकम्प प्रतिरोधी सो भवनको भवन मापदण्ड अनुसार वरिपरी ५ मिटर छाडिएको छ भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिने छ । 

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढंगबाट सो भवनको डिजाइन तयार गरिएको जानकारी दिए ।

‘काठमाडौँ महानगरपालिकामा प्रचलित परम्परागत चोकको अवधारणामा आधारित डिजाइन तयार गरेका छौँ,’ बस्नेतले भने, ‘प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन÷ कर्मचारी÷ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भर्याङ रहेका छन् ।’ 

 त्यसैगरी आकाशे पानी संकलन तथा पर्याप्त फिल्टरेशन प्रणाली सहितको रिचार्ज पिट समावेश गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

‘भवनको जमिन तलादेखि सात तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै हल निर्माण गरिने छ,’ काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, ‘भवनको मोहोडा आधुनिक शैलीको हुनेछ । यो भवन ९२ हजार ६८ वर्गफुटको निर्माण हुँदैछ ।’ 

उनले दिएको जानकारी अनुसार भवन अपाङ्ग र जेष्ठ नागरिकमैत्री हुनेछ । ‘अपाङ्गता भएका र जेष्ठ नागरिकका लागि १० जना क्षमताका दुई वटा लिफ्ट हुनेछ,’ उनले भने,’ ‘यो भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ ।’

उनका अनुसार भवनको कार्यादेश ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।  भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालीले तयार पारेको हो ।

salt training

कमेन्ट गर्नुहोस्