
उ त्यो पारि गाउँमा
अघिल्लै हप्ता आएको दशैं
मेरोमा आइपुगेन सानी !
बाटो पनि थियो
खोलामा साँघु पनि थियो
मेरो घर पनि देखिन्थ्यो परैबाट
तर निष्ठुर दशैं !
खोला पारिसम्म आएर
यता आउँदै आएन ।
मैले राम पनि सम्झेको थिएँ
अनि धाम पनि
दुर्गा, काली सबैको आराधना
गरेको थिएँ एक चित्तले
तर खै,दशैं भित्रिएन सानी!
सायद उसलाई लाग्यो होला
अगेनो चिसै छ मेरो
खोर रित्तै छ
भण्डार खाली छ
पोहोर लास आयो छोराको अरबबाट
अस्ति बुहारी बितिन् निमोनियाले
सानो नातिलाई खोलाले बगायो
बाबुआमाको स्नेह र वात्सल्य दिएर
हुर्काएकी प्यारी बहिनी
सानीहरू बसाइँ सरे गाउँबाट
टुक्रुक्क बसेका छौं हामी बूढाबूढी
थोत्रो घरको पिँढी कुरेर
त्यस्तो घरमा किन जानू !
अनि कसरी आओस् त दशैं सानी!
पटुकाले भोक थामेर
हेराहेर गर्दै एकआपसमा
न आफन्त, न समाज
कहिलेकाही त लाग्छ, कुन देशमा छु म?
के यो मेरै देश हो ?
पारिबाट पक्वानको बास्ना आयो
जलेको आँत फेरि तड्पियो
उफ! छट्पटी बढ्यो
न कोही सोध्न आयो
न कोही भेट्न आयो
वृद्धभत्ता नक्कली सही गरेर
स्थानीय अधिकारीले खाइदिए
त्यसैले न वृद्धभत्ता आयो
मेरा पुर्खाले भोटसँगको लडाइँमा
ठूलो बहादुरी देखाएका रे
बैरीसँग लड्दालड्दै
वीरगति पाएका रे
तर खै! उनै बहादुर पुर्खाको सन्तति म
उनकै रगतले बनेको यो देश
अहिले मेरो शोकमा, भोक र रोगमा
हुँदाहुँदा बुढ्यौली र एक्लोपनमा
सान्त्वनाका दुई शब्द समेत पाइएन सानी!
वरिपरि आएको दशैं
मेरो गाउँमा आएन
सुनसान र एकलास मेरो घरमा
दशैं आउदै आएन सानी !!