२३ जेठ २०८३, शनिबार

दशैं बिदामा जाग्यो कोरोनाले थलिएको पर्यटन, देखियो लयमा फर्कने छाँट

असोज २८, २०७८
दशैं बिदामा जाग्यो कोरोनाले थलिएको पर्यटन, देखियो लयमा फर्कने छाँट

दशैं बिदामा आन्तरिक पर्यटकहरू चलमलाएसँगै अहिले होटल पर्यटन क्षेत्र निकै उत्साहित छ । घुम्न जाने पर्यटकहरूले होटल खचाखच छन् । 

बुधवारसम्म सौराहाको होटल रिभरसाइडमा पर्यटकको निकै चाप थियो । ​घटस्थापनाको दिनदेखि नै होटलमा पाहुना ठूलो संख्यामा आएको होटलका म्यानेजिङ डाइरेक्टर मनिस गिरीले लोकान्तरसँग बताए । 

अहिले सौराहाका अधिकांश होटलहरूमा ८० प्रतिशतभन्दा बढी कोठाहरू भरिएका छन् । सौराहामा अहिले काठमाडौं र पोखराबाट बढी मात्रामा घुम्न गएका छन् । 

‘दशैं बिदाको अवसर पारेर काठमाडौं र पोखराबाट बढी मात्रामा घुम्न आउनुभएको छ,’ होटलका म्यानेजिङ डाइरेक्टर गिरीले भने । 

उनका अनुसार भैरहवा र हेटौंडाबाट पनि पर्यटकहरू सौराहा पुगेका छन् । 

घुम्न गएकाहरूमध्ये प्रायः एक रातका लागि छन् । गिरी भन्छन्, ‘एक जोडीले एक रातमा करीब ३ देखि ५ हजारसम्म खर्च गर्नुभएको छ, यो राम्रो हो ।’

होटलमा दशैं र दशैंको भोलिपल्टका लागि निकै धेरै बुकिङ भएको उनले बताए । ‘टीकाको दिनमा अहिलेसम्म ६० प्रतिशत र भोलिपल्टलाई ८० प्रतिशतसम्म बुकिङ भएको छ,’ उनले भने । 

उनका अनुसार कोरोना महामारी आउनुपूर्व दशैं बिदामा अधिकांश होटलमा ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ हुन्थ्यो । अहिले केही मात्रामा घटेको छ । यद्यपि होटल व्यवसायीहरू अहिले निकै आशावादी छन् । 

होटल संघ चितवनका अनुसार अहिले सौराहामा आन्तरिक पर्यटन विगतका दिनहरूभन्दा राम्रो छ । यद्यपि विगतका वर्षहरूमा भन्दा राम्रो हुन अझै समय लाग्ने देखिन्छ । 

होटल संघ चितवन अध्यक्ष दीपक भट्टराईले अहिले समग्रमा सौराहामा ४० देखि ४५ प्रतिशतसम्मको ‘अकुपेन्सी’मा होटल चलिरहेको लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार विगतमा यस समयमा ७० देखि ८० प्रतिशतसम्म ‘अकुपेन्सी’ हुन्थ्यो । विगतमा फूलपातीको दिनदेखि नै चहलपहल बढ्ने गरेको भए पनि अहिले त्यस्तो नभएको उनले सुनाए । 

‘टीकाको दिनदेखि भने ४० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको छ, टीकाको दिन पनि धेरै पर्यटक आउँछन् भन्नेमा हामी आशावादी छौँ,’ उनले भने । 

विगतमा व्यस्त हुने पोखराको होटल हिमालयन इनमा अहिले धेरै पर्यटक पुग्न सकेका छैनन् । 

जति पुगेका छन्, त्यो संख्या न्यून छ । अर्थात अहिले १० प्रतिशत अकुपेन्सीमा होटल चलिरहेको होटल हिमालयन इनका अपरेसन म्यानेजर जीपी शर्मा बताउँछन् । 

उनको होटलमा पर्यटकहरू त्यति पुगेका छैनन् । पुगेकाहरू सीमित छन् । 

काठमाडौंबाट धेरै संख्यामा पर्यटक गएका छन् भने पूर्वका जिल्लाहरूबाट पनि होटल हिमालयन इनमा पाहुना आएका छन् । 

तर, यस वर्षको दशैंमा सोचेजस्तो हुन नसकेको होटलका अपरेसन म्यानेजर शर्मा बताउँछन् । 

‘हाम्रो होटलमा काठमाडौंबाट धेरै र झापा, मोरङ, सुनसरीबाट आएका छन् । २ दिनभन्दा बढी उनीहरू बसेका छैनन्,’ उनी भन्छन्,‘यसपालि सोचेजस्तो अवस्था छैन ।’

पोखरामा अहिले प्रायः समूहमा घुम्न जानेहरू धेरै छन् । विगतमा धेरै मात्रामा घुम्न जाने नवविवाहित, प्रेम जोडी तथा परिवारहरू अहिले पोखरामा कम पुगेका छन् । तर समूहमा जानेहरूको संख्या भने निकै राम्रो छ । 

सरदरमा पोखराका होटलहरू अहिले ५० प्रतिशत अकुपेन्सीमा चलिरहेका छन् । 

‘कि त एकदमै सस्तोमा दिनेहरूमा गेष्ट बढी छन्, कि त हाइ रेट हुनेहरूले घटाएका छन्, त्यता पाहुनाहरू बढी छन् । बीचमा हुने हामीहरूको बिजनेस छैन,’ होटल हिमालयन इनका अपरेसन म्यानेजर शर्माले भने ।

विगतमा तनहुँको बन्दीपुरमा पर्यटकको भीड लाग्ने गर्दथ्यो । पोखरा जाने पर्यटकहरू पनि पहिले बन्दीपुर पुगेर जान्थे । तर कोरोना महामारीपछिको बन्दीपुर अहिले सुनसान जस्तै छ । 

अहिले सो क्षेत्रमा घुम्न जाने आन्तरिक पर्यटकहरू निकै न्यून रहेको होटल संघ तनहुँका अध्यक्ष राम जोशी बताउँछन् । 

उनका अनुसार समग्र तनहुँको होटलहरू अहिले करीब ४० प्रतिशत मात्रै अकुपेन्सीमा चलिरहेका छन् । 

विगतको दशैंमा यो ‘अकुपेन्सी’ झण्डै १०० प्रतिशतकै हाराहारीमा पुग्ने गथ्र्यो । 

अध्यक्ष जोशी भन्छन्, ‘अहिले तनहुँको अवस्था पर्यटक नभएको पनि होइन तर विगतको जस्तो पनि छैन ।’ 

बन्दीपर घुम्न जानका लागि बुकिङ पनि निकै कम भइरहेको उनी सुनाउँछन् । उनका अनुसार तनहुँका होटलहरूमा जम्मा १० प्रतिशतसम्म मात्रै बुकिङ भइरहेका छन् ।   

यता धुलिखेलका होटलहरूमा पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

काठमाडौं उपत्यकाबाट केही मात्रामा पर्यटकहरू धुलिखेल पुगेको होटल संघ काभ्रेका अध्यक्ष प्रेमकान्त श्रेष्ठ बताउँछन् ।

‘अष्टमी र नवमीको दिन होटलमा बस्ने र टीकाको दिन घर फर्कनेहरू धेरै छन्,’ लोकान्तरसँग उनले भने ।

उनका अनुसार अहिले धुलिखेलका होटलहरू प्रायः ४० प्रतिशतको ‘अकुपेन्सी’मा चलिरहेका छन् । कोरोना महामारी शुरू हुनुपूर्व ४० देखि ५० प्रतिशत अकुपेन्सीसम्म दशैंको समयमा धुलिखेलका होटलहरू सञ्चालन हुने गरेका थिए । 

यता काठमाडौं उपत्यकाको चर्चित पर्यटकीय ठाउँ नगरकोट अहिले सुनसान छ । दशैंमा प्रायले उपत्यका छाड्ने हुँदा नगरकोट अहिले सुनसान रहेको होटल संघ भक्तपुरका अध्यक्ष सत्यराम सुवालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्