२२ जेठ २०८३, शुक्रबार

पोखरीमा अज्ञात समूहले विष हालेपछि मरे माछा

असोज २८, २०७८
पोखरीमा अज्ञात समूहले विष हालेपछि मरे माछा
प्रतिकात्मक तस्वीर

झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् ।

सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि फर्मका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिए ।

‘४ दिनयता माछा मरिरहेका छन्,’ गौतमले भने, ‘कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।’

गत सोमवारदेखि माछा मर्न थालेका उनको भनाइ छ । करीब आधा किलो तौल भएको माछा उनले केही दिन अघिदेखि मात्र बिक्री गर्न थालेका थिए ।

‘सोमवार ८/१० वटा माछा मरेको भेट्यौं,’ उनले भने, ‘त्यसको भोलिपल्ट मंगलवार ५० वटा जति, बुधवार एक क्वीन्टल र आज २ क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौं ।’

पोखरीमा १० हजार माछाको भुरा हालेको उनको भनाइ छ । पोखरीमा हालिएको विषका कारण करीब १० क्वीन्टल माछा मर्ने र सोबाट ३ लाखभन्दा बढी घाटा हुने उनले बताए । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उनले बताए ।

मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उनले बताए ।

सक्षम युवा कृषि फर्म दर्ता गरेर विक्रम संवत् २०७२ सालदेखि ४ बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताए ।

पोखरीमा विष हालिएको विषयमा उनले प्रहरी चौकी पथरियामा समेत निवेदन दिएका छन् । निवेदनपछि आफूहरूले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार शेर्माले बताए । ‘माछा मरेको छ,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं ।’

salt training

कमेन्ट गर्नुहोस्